गोरखा /६ चैत – गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किरोका कारण हैरान भएका छन् । कक्षाभरि झुसिल्किरो आएर बस्दा पठनपाठन प्रभावित भएको छ ।
विद्यालयको वरिपरि उतिसको जंगल छ । सुक्खा मौसम लागेपछि विगत एक महिनायता उतिसमा लागेको झुसिल्किरो कक्षा कोठामा आएर बस्न थालेका छन् ।
शिक्षिका पवित्रा तामाङ भन्छिन्, ’भन्दा सानो कुरा जस्तो लाग्छ, तर वरिपरिको उतिसको जंगलबाट आएको झुसिल्किरोले कक्षाको भुइँ, डेक्स, बेञ्च, जस्ताको छानो, भित्ता कतै खाली छैन ।’
माघको अन्तिम सातादेखि झुसिल्किरो लागेर शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान भएका छन् । उनीहरुको जीउभरी डाबर उठेको छ । सबैले एलर्जीको औषधी खाँदै आएका छन् ।
’रातभरि कन्याएर सुत्न सकिँदैन । विद्यार्थीको विजोग छ,’ शिक्षिका तामाङले भनिन् । झुसिल्किरोको झुस बिझेर बालबालिकाले जीउभरी तेल घसेर आउने गरेका उनी बताउँछिन् ।
कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीका लागि ओछ्याएको कार्पेट झुसिल्किरोले ढाकेपछि कक्षाकोठाबाट हटाइएको शिक्षिका तामाङको भनाइ छ ।



