काठमाडौँ /२५ फागुन – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले कक्षा १२ को परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको छ । बोर्डद्वारा २०८३ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा आवेदन फाराम बुझाउने समय थप गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा पूर्व प्रकाशित सूचना अनुसार २०८२ माघ २५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा परीक्षा आवेदन फाराम बुझाउन सूचित गरिएकोमा उक्त समयमा फाराम बुझाउन/भर्न छुट भएका विद्यालय/विद्यार्थीहरूका लागि समय थप गरिएको सूचनामा उल्लेख छ ।
साथै यसअघि नै तोकिएको समयमा बोर्डको खातामा शुल्क दाखिला गरेको हकमा सोही शुल्कको आधारमा र हालसम्म शुल्क नबुझाएको हकमा विलम्ब शुल्कसहितको दस्तुर चैत २ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाउने गरी म्याद थप गरिएको बोर्डले जनाएको छ ।



