बेलायतले लगायो चार देशका विद्यार्थीलाई भिसा प्रतिबन्ध

काठमाडौं/२० फाल्गुन – बेलायतले चार देशका विद्यार्थीमाथि भिसा प्रतिबन्ध लगाएको छ ।
अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानका विद्यार्थीका लागि विद्यार्थी भिसामाथि प्रतिबन्ध लगाएको हो ।


गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यी देशका नागरिकलाई पहिलो पटक भिसामा ‘आपतकालीन ब्रेक’ लगाइएको जनाएको छ । साथै, अफगानिस्तानका लागि वर्क भिसा पनि अन्त्य गरिएको छ ।


अध्ययन भिसामा आउनेले कुल शरणार्थी दाबीको १३ प्रतिशत हिस्सा ओगटेकाले थप कडा कदम चालिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । सन् २०२१ देखि २०२५ को बीचमा यी चार देशका विद्यार्थीको शरणार्थी आवेदनमा ४७० प्रतिशतभन्दा बढीले वृद्धि भएको मन्त्रालयको तथ्यांक छ ।


गृह सचिव शबाना महमुदले भनिन्, ‘बेलायतले युद्ध र उत्पीडनबाट भागेर आएकालाई सधैँ शरण दिनेछ, तर हाम्रो भिसा प्रणालीको दुरुपयोग गरिनु हुँदैन । त्यसैले म हाम्रो उदारताको दुरुपयोग गर्न खोज्ने नागरिकलाई भिसा अस्वीकार गर्ने अभूतपूर्व निर्णय गर्दैछु ।’