शिक्षकलाई मर्यादामा विभेद गरे जिम्मेवारी सम्पन्न गर्न बाध्य नहुने

काठमाडौँ /८ फागुन – नेपाल शिक्षक महासङ्घले शिक्षकलाई निर्वाचनमा खटाउँदा तह र श्रेणी एवम् मर्यादामा विभेद गरिएको भन्दै आपत्ति जनाएको छ । देशका विभिन्न भागका मतदान केन्द्रमा निर्वाचन आयोगबाट विभिन्न जिम्मेवारीसहित शिक्षकहरू खटाइएको उल्लेख गर्दै शिक्षकले अध्यापन गरिरहेको तह र श्रेणीलाई दृष्टिगत गरी उपयुक्त जिम्मेवारी दिनुपर्ने महासङ्घको माग छ ।


महासङ्घले विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यमा शिक्षकहरूको संलग्नतामा कञ्जुस्याई गरिएको तथा खटाइएका ठाउँमा समेत तह र श्रेणीलाई विचारै नगरी कनिष्ठ जिम्मेवारी दिइएको जानकारी विभिन्न जिल्लाहरूबाट प्राप्त भइरहेको जनाएको छ ।


साथै तह र श्रेणी एवम् मर्यादामा आघात हुने गरी दिएका जिम्मेवारी सम्पन्न गर्न शिक्षकहरू बाध्य नहुने भन्दै यस विषयमा निर्वाचन आयोगलाई गम्भीर हुन आग्रह गरिएको छ ।


“शिक्षकलाई निर्वाचनमा खटाउँदा निजले अध्यापन गरिरहेको तह र श्रेणीलाई दृष्टिगत गरी सो अनुसार उपयुक्त जिम्मेवारी दिन ने शि। महासङ्घले बारम्बार आग्रह गरिरहेको परिप्रेक्ष्यमा अझै पनि त्यस खालको विभेद गरिनु उचित होइन । हामी निर्वाचन आयोगसमक्ष यस विषयमा गम्भीर हुन जोडदार माग गर्दछौँ । साथै तह र श्रेणी एवम् मर्यादामा आघात हुने गरी दिएका जिम्मेवारी सम्पन्न गर्न शिक्षकहरू बाध्य नहुने कुरा समेत जानकारी गराउँछौँ ” विज्ञप्तिमा भनिएको छ ।