अहिलेको परीक्षा प्रणाली परिवर्तन हुनुपर्छ तर परीक्षा भने आवश्यक छ

काठमाडौँ /१७ माघ – शिक्षाविद् प्रा.डा. प्रकाशमान श्रेष्ठले शिक्षामा व्यापक सुधार गरेका मुलुकहरू चीन, रसिया र सिङ्गापुरले पनि विगतबाट पाठ सिक्दै त्यसकै आधारमा शिक्षा क्षेत्रमा सुधार गरेको इतिहास रहेकोले नेपालको शिक्षा क्षेत्र, सिकाई पद्धतिलगायतको सुधारका लागि पनि त्यस्तै नीति अवलम्बन गर्न सकिने बताएका छन् ।

विगतमा भएका अभ्यास, पद्धति र नीतिको सुधार गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय शिक्षा नीति २०७६ आएको र यस्ता नीतिहरूको सहयोगमा शिक्षामा सुधार हुन सक्ने बताए ।


साथै जीवनोपयोगी गुणस्तर शिक्षाले मात्र शिक्षित जनशक्ति तयार गर्न सहयोग पु¥याउँने बताउँदै प्राविधिक विषय तर्फ पनि ध्यान दिनुपर्ने खाँचो रहेको उनको भनाई छ ।


“विभिन्न तथ्याङ्कहरू अनुसार सिटिभिटीले प्राविधिक शिक्षा दिएका जनशक्ति पनि बेरोजगार छन् भने सिप मात्र दिएर पुगेन, रोजगारीको अवसरमा पनि वृद्धि गराउनुपर्ने आवश्यकता देखियो । सिपमूलक शिक्षा चाहियो भनिरहँदा प्राविधिक विषय पढेका जनशक्ति बेरोजगार भइरहँदा त्यसतर्फ समेत ध्यान पु¥याउनुपर्ने देखिएको छ” उनले भने ।


परीक्षाको सन्दर्भमा हाल कतिपय व्यक्तित्वहरूले विद्यालयस्तरमा परीक्षा लिने पद्धति नै हटाउनुपर्छ भन्ने गरेको बताउँदै विद्यार्थीको सिकाई पद्धतिमा सुधार गर्न उनीहरूको व्यवहारमा परिवर्तनको आवश्यकता रहेको बताए ।


“किनभने विद्यार्थीलाई सिकाएका कुरा कति जान्यो भनेर सिकाईको अवस्था बुझ्न परीक्षाको आवश्यकता हुन्छ । अहिलेको परीक्षा प्रणाली परिवर्तन चाहि हुनुपर्छ तर परीक्षा भने आवश्यक छ “उनले भने ।