शिक्षकलाई तालिम होइन सशक्तीकरण गर्ने मोडेल चाहिएको छ : शिक्षाविद् गौतम

काठमाडौँ/६ माघ – शिक्षाविद् डा.गंगाराम गौतमले विद्यालय शिक्षा रूपान्तरणका लागि शिक्षकहरूसँग हातेमालो गर्न सके मात्रै सम्भव रहेको बताएका छन् । खबर एजुकेशनले आयोजना गरेको विद्यालय शिक्षा रूपान्तरणमा नीतिगत सवाल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार राख्दै शिक्षकहरूसँग हातेमालो गर्ने नीति चाहिएको बताए ।


उनले विद्यालय शिक्षा रूपान्तरणको केन्द्रबिन्दु कक्षाकोठा भएको र कक्षाकोठा भनेको शिक्षक र विद्यार्थीबिचको अन्तरक्रिया रहेकोले शिक्षकलाई दिँदै आएको तालिमको मोडेल नभएको विचार व्यक्त गरे । २००० देखि अहिलेसम्म जतिपनि अनुसन्धान भए त्यसको निचोड भनेको विद्यार्थी र शिक्षकबिच अन्तरक्रिया भएन भनेर भजन गाईरहेको उदाहरण दिँदै शिक्षकलाई तालिम नभई सशक्तीकरण गर्ने मोडेल चाहिएको उनको भनाई छ ।


उनले भने “प्रविधि मैत्री, समावेशी शिक्षण पद्धतिको कुरा गरिए पनि त्यसलाई कार्यान्वयन गर्न शिक्षकको अवस्था के छ भन्ने बारेमा कसैले हेरैकै छैन । त्यस्ता तमाम २०,३० वटा जल्दा बल्दा मुद्दा छन् । त्यसैले कक्षाकोठामा शिक्षकहरू जुन अवस्थामा हुनुहुन्छ त्यसको एसेस्मेन्ट गरेर हातेमालो गरेर अगाडी जाउँ । एक पटकको तालिमको मोडेलबाट नजाउँ ।”


शिक्षाविद् गौतमले अहिले विद्यार्थी शिक्षकको अनुपातमा अड्किरहेको उल्लेख गर्दै दूरदराजका विद्यालयमा विद्यार्थी थोरै भएपनि विद्यालय राख्नुपर्ने अवस्था रहेकोले शिक्षकहरूसँग मिलेर कहाँ कस्ता समस्या छन् त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अगाडी बढ्नुपर्ने बताए ।


दाताले सिर्जना गरेको परिवर्तनले काम नगर्ने भन्दै देशको भूगोल, संस्कृति, सिपसँग मिल्ने पद्धतिले मात्र परिवर्तनको आवश्यकतालाई सम्बोधन गर्ने बताए । विद्यालय शिक्षा नीति हेर्दा तत्कालीन आवश्यकताका आधारमा र दाताका आधारमा नीति बनेकोले विद्यालय शिक्षा रूपान्तरणमा समस्या भएको उनको भनाई छ ।