काठमाडौँ/२९ पुष – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालभरका विद्यालयहरूमा विश्वस्तरिय शिक्षा, सशक्त पठन संस्कार र समग्र शैक्षिक सुधारलाई अघि बढाउने उद्देश्यसहित सहकार्यको भएको हो ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीहरूको सोच्ने क्षमता, सिर्जनशीलता, शैक्षिक विकास तथा आजीवन सिकाइका लागि पठन संस्कार निर्माण अत्यावश्यक भएकाले, यसलाई प्याब्सनले आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सारेको जनाएको छ ।
विश्वव्यापी रूपमा पठन बानी कमजोर बन्दै गएको वर्तमान सन्दर्भमा, सही पुस्तकहरूको उपलब्धता, सहयोगी सिकाइ वातावरण निर्माण तथा योजनाबद्ध पठन कार्यक्रमको कार्यान्वयनमार्फत विद्यार्थीहरूलाई सक्रिय रूपमा सहयोग गर्नु अत्यन्त जरुरी भएको प्याब्सनको भनाई छ ।
अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियासँग भएको यो समझदारीपत्र प्याब्सन तथा नेपालको विद्यालय शिक्षाका लागि एक महत्वपूर्ण उपलब्धि रहेको प्याब्सन केन्द्रका अध्यक्ष कृष्ण अधिकारीले बताए । विद्यालयको मूल उद्देश्य सिकाइ रहेको र पठन गुणस्तरीय शिक्षाको आधार रहेको बताउँदै शैक्षिक उपलब्धि, समालोचनात्मक सोच, सिर्जनशीलता वा चरित्र विकास–कुनै पनि क्षेत्रमा वास्तविक प्रगति सम्भव नहुने उनको भनाई छ । “यस सहकार्यमार्फत, प्याब्सनले शिक्षा सुधारको सुरुआत सशक्त पाठक निर्माणबाटै हुनुपर्छ भन्ने आफ्नो विश्वास पुनः स्पष्ट गरेको छ । साथै, हामी यो पनि प्रस्ट बुझ्दछौँ कि पुस्तक मात्र पर्याप्त हुँदैनन् । विद्यालयलाई दक्ष र प्रशिक्षित शिक्षक, सक्षम र आत्ममूल्याङ्कन गर्न सक्ने विद्यालय नेतृत्व तथा स्पष्ट शैक्षिक उद्देश्य आवश्यक हुन्छ” अधिकारीले भने ।
यस सहकार्यमार्फत पाठकहरूको नयाँ पुस्ता तयार पार्ने, विद्यालय नेतृत्वलाई सशक्त बनाउने र नेपालमा अझ मानवीय तथा सुदृढ शिक्षा प्रणाली निर्माणमा योगदान गर्ने अपेक्षा राहेको बताए ।
प्याब्सनका पूर्व अध्यक्ष तथा सल्लाहकार ढिके ढुङ्गानाले “अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियासँगको सहकार्यले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश गर्न बाटो निर्माण गरिएको उल्लेख गर्दै विद्यालयहरूमा पठन संस्कृतिको विकास गर्नका लागि नयाँ अध्याय सुरु गरिएको बताए ।
विकसित प्रविधिका कारणले विद्यार्थीमा पढ्ने संस्कार हराउँदै गएको र विद्यार्थीलाई पुस्तक तथा पुस्तकालयसाँग जोड्न, पढ्ने बानीको विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा रहेको उनको भनाई छ ।
अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाका प्रबन्ध निर्देशक सुकान्त दासले अक्सफोर्ड युनिभर्सिटी प्रेसले नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय सहभागिता र महत्वपूर्ण उपलब्धिहरू हासिल गर्दै आएको बताए ।विश्वप्रसिद्ध वक्ता, अनुभवी शिक्षक तथा विश्वस्तरिय शैक्षिक स्रोतहरू उपलब्ध गराएर विद्यार्थीहरूको सिकाइ यात्रालाई अझ समृद्ध बनाउने र शिक्षकहरूको व्यावसायिक विकासलाई अघि बढाउने, विद्यालय नेतृत्वलाई आधुनिक शैक्षिक अभ्यासहरूसँग सुसज्जित गर्ने प्रतिबद्धता रहेको दासको भनाई छ ।



