चुनावले एसईई परीक्षा प्रभावित, प्रश्नपत्र छपाईको समय हेरेर निर्णय गरिने

काठमाडौँ/२४ पुष – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका कारण एसईईको परीक्षा प्रभावित हुने देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले अहिलेसम्म कुनै पनि निर्णय नगरेपनि चुनावका कारण आगामी चैतको पहिलो साता हुने एसईईको परीक्षा प्रभावित हुन सक्ने जनाएको हो ।


राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक टुकराज अधिकारीले बोर्डको कार्यतालिका अनुसार माघको पहिलो साता परीक्षा तालिका निकाल्ने र चैतको पहिलो सातबाट परीक्षा सञ्चालन गर्ने भनिएपनि चुनावका कारण प्रभावित हुने भएपछि बोर्ड बैठक राखेर औपचारिक निर्णय गरिने बताए । उनले अहिले पनि छलफल भई रहेको जानकारी दिँदै आधिकारिक निर्णय नभई सकेको बताए ।


अधिकारीले विभिन्न विकल्पमा छलफल भईरहेको र जनक शिक्षा सामग्री केन्द्रसँग राय लिएर अगाडी बढ्ने तयारी रहेको खबर एजुकेशनलाई जानकारी दिए । उनले भने ‘अहिले नै निर्णय भइसकेको छैन, हामी छलफलमै छौँ । मन्त्रालयसँग, जनक शिक्षा सामग्री केन्द्रसँग छलफल गरेर । बोर्डले निर्णय लिन्छ । तर चुनावले परीक्षा प्रभावित हुने निश्चित छ । अहिले नै सर्छ पनि भन्न सकिएन, सर्दैन पनि भन्न सकिएन ।


एसईईको प्रश्नपत्र र चुनावी मतपत्र दुवै जनक शिक्षा सामग्री केन्द्रले छाप्ने भएकाले बोर्डले प्रश्नपत्र छपाइको सन्दर्भमा जनक शिक्षासँग पनि थप छलफल र समन्वय गरेर निर्णय लिने बताए । सुरक्षाका हिसाबले गर्दा निर्वाचन अगाडी प्रश्न पत्र छापेर पठाउन असम्भव जस्तै रहेको र चुनाव पछि छापेर पठाउन कति समय लाग्छ त्यसलाई हेरेर निर्णय गरिने उनको भनाई छ ।