काठमाडौँ /८ पुष – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम खुला गरिएको छ । २०८३ सालमा सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि परीक्षा आवेदन फराम खुला भएको हो ।
रजिस्ट्रेसन नम्बरका शुरुका दुई अङ्क ७९ ( अन्तिम पटक ), ८० र ८१ भएका नियमित र आंशिक तर्फका परीक्षार्थीले मात्र परीक्षा आवेदन फाराम भर्ने भर्न सक्नेछन् । बोर्डद्वारा जारी गरिएको शैक्षिक सत्र २०८२/०८३ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भए अनुसार नै २०८२ साल पुस मसान्तभित्र परीक्षा शुल्क बापतको रकम दाखिला गर्न र सो समयभित्र रकम दाखिला गर्न सकिने बोर्डले जनाएको छ ।
साथै सो समयमा छुटेका परीक्षार्थीहरूले २०८२ माघ १५ गतेसम्म विलम्ब शुल्क सहित रकम बुझाई राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भर्न सकिने जनाइएको छ ।
सम्बन्धित विद्यालय÷क्याम्पसहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाण सहित २०८२ माघ २५ गतेसम्म राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउनु पर्ने छ ।
यसैगरी कक्षा १२ को नियमित परीक्षार्थीको रूपमा आवेदन फाराम भर्ने विद्यार्थीहरू (रजिस्ट्रेसन नम्बरको शुरुका दुई अङ्क ८२ भएका) ले २०५२ सालमा विद्यालय मार्फत लिइएको कक्षा ११ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डि एवं आन्तरिक मूल्याङ्कन / प्रयोगात्मक तर्फ सी ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । परीक्षा आवेदन फारामका साथ कक्षा ११ को विषय दर्ता (रजिस्ट्रेसन कार्ड) र विद्यालयबाट प्रदान गरिएको (तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको) कक्षा ११ को ग्रेडसिट प्र. अ. बाट प्रमाणित गराई अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । आंशिक परीक्षार्थीको हकमा निजको कक्षा १२ को पुरानो ग्रेडसिटको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । अन्यथा आवेदन फाराम मान्य हुने बोर्डले जनाएको छ ।
परीक्षा आवेदन शुल्क (विलम्ब शुल्क रहित ) प्रति विद्यार्थी आठ सय वा विलम्ब शुल्क सहित प्रति विद्यार्थी एक हजार छ सय राष्ट्रिय परीक्षा बोर्डको खातामा दाखिला गर्नुपर्नेछ ।




