काठमाडौँ /१८ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्री भएको केही दिनमै विद्यालय तहबाटै बालबालिकालाई सूचना तथा प्रविधिसँग जोड्ने उद्देश्यले माध्यमिक तहमा अनिवार्य कम्प्युटर शिक्षा लागु गर्ने निर्णय गरे । पुनको निर्णयपछि पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा कम्प्युटर विषय अनिवार्य गर्न राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ संशोधनका लागि अघि बढाएको छ ।
कक्षा ९ र १० मा कम्प्युटर विषय अनिवार्य गर्ने निर्णय गरेपनि भौतिक पूर्वाधार, ल्याब र शिक्षक व्यवस्थापनमा भने चुनौती भएको सरोकारवालाहरूको भनाई छ ।
आजको विश्व डिजिटल प्रविधि विना कल्पना गर्न कठिन हुने अवस्थामा पुगिसकेको छ । त्यसैले पनि विद्यालय शिक्षामा नै यसको पठनपाठन थाल्नु अनिवार्य देखिन्छ । दैनिक रूपमा हुने नयाँ नयाँ डिजिटल प्रविधिको विकाससँगै मानिसको जीवन तथा दैनिक काममा कम्प्युटर प्रयोग अति आवश्यक जस्तै बन्दै गएको छ । विद्यालय शिक्षादेखि नै विश्व बजारमा प्रतिस्पर्धी बन्न विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा दिनु अत्यावश्यक छ ।
पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा रोजगारीका अवसरहरू र दायराहरू तीव्र रूपमा बढिरहेका छन् । प्राविधिक क्षमता आधुनिक नागरिकका लागि आधारभूत योग्यता जस्तै बनेको छ । यस सन्दर्भमा विद्यालय तहदेखि नै कम्प्युटर शिक्षा दिन सकिए विद्यार्थी भविष्यमा प्रोग्रामिङ, ग्राफिक्स, वेब–डिजाइन, डाटा एनालाइसिस र साइबर सिक्युरिटी जस्ता धेरै क्षेत्रमा सहज रूपमा अघि बढ्न सक्नेछन् ।
तर नेपालको सन्दर्भमा कम्प्युटर शिक्षा विद्यालय देखिनै सञ्चालन गर्न केही चुनौती भने नभएका होइनन् । धेरै विद्यालयमा पर्याप्त कम्प्युटर, इन्टरनेट, बिजुली वा प्राविधिक स्रोतको कमी छ । ग्रामीण क्षेत्रका विद्यालयमा त कहिलेकाहीँ एक–दुई थान कम्प्युटरबाटै सबै कक्षा चलाउनुपर्ने स्थिति छ ।
कम्प्युटर विषय पढाउने योग्य तथा तालिम प्राप्त शिक्षक पर्याप्त छैनन् । धेरै विद्यालयमा विषय गत शिक्षकको चरम अभाव र पटक पटक विज्ञापन गर्दा पनि शिक्षक नपाइएको अवस्थामा कम्प्युटर शिक्षकको व्यवस्थापन गर्न सरकारका लागि चुनौती बन्न सक्छ । साथै पाठ्यक्रमलाई आधुनिक बनाउन प्रयास भए पनि व्यवहारिक कक्षाका लागि उपकरण र पहुँचको अभावले विद्यार्थीले सीपभन्दा सिद्धान्तमै बढी सीमित रहनु पर्न पनि सक्छ ।
कति चाहिन्छ न्यूनतम शिक्षक
आर्थिक सर्वेक्षण २०८१ /०८२ अनुसार कक्षा ९ – १० सम्म ६ हजार ४ सय ९३ विद्यालय सञ्चालनमा छन् । जसमा ३ हजार ३ सय ४३ सामुदायिक, ५८ वटा परम्परागत र ३ हजार ९२ संस्थागत रहेका छन् ।
त्यसैगरी कक्षा ९-१२ सम्म ५ हजार ४९ विद्यालय सञ्चालनमा रहेका छन् । सामुदायिक तर्फ ३ हजार ७ सय ७८, संस्थागत तर्फ १ हजार २ सय ३७ र परम्परागत तर्फ ३४ विद्यालय रहेका छन् ।
वर्तमान अवस्थामा जम्मा कक्षा १० सम्म ३ हजार ३ सय ३२ विद्यालयमा कम्प्युटर विज्ञान पढाई हुन्छ । त्यस मध्ये १ हजार ४ सय ५ सामुदायिक विद्यालय, १ हजार ९ सय २२ विद्यालयमा यो विषय पढाई भईरहेको छ । बाँकी १ हजार ९ सय ३८ विद्यालयमा कम्प्युटर विज्ञान पढाई हुँदैन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयलाई अनिवार्य गरेको खण्डमा सामुदायिक र संस्थागत विद्यालय गरेर बाँकी ३ हजार १ सय ६१ विद्यालयमा कम्प्युटर शिक्षकको आवश्यकता देखिन्छ । त्यसमा पनि निजि विद्यालयलाई छोडेर सामुदायिक विद्यालयको लागि मात्रै १ हजार ९ सय ९६ विद्यालयका लागि शिक्षक व्यवस्थापन गर्नुपर्ने देखिन्छ । बाँकी १ हजार ४ सय ५ सामुदायिक विद्यालयमा अहिले पनि पढाई भईरहेको छ ।
अहिले कम्प्युटर विज्ञान पढाई हुने विद्यालयहरूमा करिब १ लाख ३ हजार विद्यार्थीहरूले कक्षा १० यो विषय अध्ययन गरिरहेका छन् । सामुदायिक विद्यालयमा ४६ हजार बढी र संस्थागत तर्फ ५७ बढीले पढिरहेका छन् ।



