पाकिस्तानको सहयोगमा ज्ञानोदय माविमा कम्प्युटर प्रयोगशाला निर्माण

काठमाडौं /१४ मंसिर – बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका लागि पाकिस्तानको सहयोगमा कम्प्युटर प्रयोगशाला निर्माण गरिएको छ । शनिबार नवनिर्मित प्रयोगशालाको उद्घाटन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले सूचना तथा सञ्चार प्रविधिका साथै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका क्षेत्रहरूमा अवसरको खोजी गर्नुपर्नेमा जोड दिए ।


राजदूत हास्मीले विद्यालयको नेतृत्व, शिक्षक तथा समुदायको सक्रिय सहभागिताबाट नै विद्यालयले दिगो शैक्षिक उन्नयन गरेको बताए ।


पाकिस्तानी दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइराला, काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख समन्तमणि आचार्य, विद्यालयकी प्राचार्य विष्णु घिमिरेलगायत सहभागी थिए ।


पाकिस्तानले सन् २०१३ देखि उक्त विद्यालयको कम्प्युटर प्रयोगशालाका निम्ति फर्निचर, कम्प्युटरलगायत उपकरण सहयोग गर्दै आएको छ ।