काठमाडौँ/३० कार्तिक – शिक्षक र सरकार बिचको दुरीका कारण पाठ्यक्रम केहो भनेर चिनाउन नसक्दा कार्यान्वयनमा समस्या आएको शिक्षाविद् डा. बाबुराम ढुङ्गानाले बताएका छन् । एक दुई जना शिक्षकहरूले मात्रै पाठ्यक्रम बुझेर नहुने सबै शिक्षकले आआफ्नो विषयमा गहिराइसम्म गएर पाठ्यक्रम बुझेमात्रै प्रभावकारी हुने उनको भनाई छ ।
पाठ्यक्रमले केन्द्रबिन्दुमा विद्यार्थी रखेको उल्लेख गर्दै विद्यार्थी मार्फत पाठ्यक्रमका अपेक्षाहरू पुरा हुन सकेका छन् की छैनन, कति मात्राको आवश्यकता गरिएको थियो, कुन गुणस्तरको आवश्यकता महसुस गरिएको थियो, त्यो भयो की भएन भन्ने मूल कुरा रहेको बताए ।
ढुङ्गानाले अहिलेकै अवस्थामा पूर्णरूपमा सन्तुष्ट हुन नसकिएको र समाजले पनि पाठ्यक्रमले अपेक्षा गरेका कुराहरू राम्रोसँग विद्यार्थीबाट कार्यान्वयनमा नआएको देखाएको तर्क गरे । साथै विभिन्न अनुसन्धानबाट पनि त्यसको पुष्टि भएको बताउँदै यसमा सुधार गर्नुपर्ने क्षेत्र धेरै भएको उनको भनाई छ ।
यसैगरी पाठ्यक्रम आंशिक रूपमा मात्रै प्रयोगमा आएको स्वीकार गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अहिले पाठ्यक्रम पूर्ण रूपमा प्रयोगमा आउन नसक्नुमा शिक्षकले पाठ्यक्रम राम्रोसँग नबुझनु रहेको बताए ।
उनले भने “सरकारले नै बुझाउनका निम्ति प्रयास गर्ने अवसर पनि पाएन । सङ्घीयता पछि सरकार र शिक्षकबिचमा लामो दुरी पनि भैदियो, स्थानीय सरकारहरूले पाठ्यक्रमलाई चिनेनन्, स्थानीय सरकारको नजिकमा विद्यालयहरू छन्, अनि सङ्घीय सरकार तथा प्रदेश सरकारहरू र विद्यालयका बिचमा लामो दुरी छ । सरकार र शिक्षकविचको यही दुरीका कारण पाठ्यक्रम केहो भनेर चिनाउन सकिएन ।”




