नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स सुरु

काठमाडौँ /२८ कात्तिक – नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स सुरु भएको छ । अक्षरा स्कुलसहित उपत्यकाभित्रका विभिन्न नौ वटा विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत २ सय ५ जना विद्यार्थीसम्मिलित तीन दिने एएमयुएन सुरु भएको हो ।


व्यवसायी तथा पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिको प्रमुख आतिथ्यमा सो कार्यक्रमको औपचारिक उद्घाटन भएको विद्यालयले जनाएको छ । कक्षा कोठामा प्रदान गरिने किताबी ज्ञानका साथै अतिरिक्त ज्ञान तथा सिप विकास गर्ने उद्देश्यले विद्यालयले प्रत्येक वर्ष एएमयुएन सञ्चालन गर्दै आएको छ ।


जीवनोपयोगी सिप सिकेर विश्वस्तरीय जनशक्ति निर्माणका लागि एएमयुएन विद्यार्थीलाई सहयोग गर्ने खुट्किलो बनेको एएमयुएन सल्लाहकार अनमोल घिमिरेले बताए । ‘मोडेल युनाइटेड नेसन्स’ (मुन) संयुक्त राष्ट्रसङ्घबाट मान्यता प्राप्त एक विद्यालय स्तरीय शैक्षिक मञ्च हो, जसका माध्यमबाट विद्यार्थीले विभिन्न कमिटीमा विभिन्न देशका प्रतिनिधि बनेर ती देशका अन्तर्राष्ट्रिय नीति र दृष्टिकोणका साथै विश्वव्यापी मान्यताको अध्ययन, विश्वमा उत्पन्न समस्या र तिनको समाधान गर्ने प्रयास गर्दछन् । उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रत्येक दिन एएमयुएनका सत्रहरूको अवलोकन गर्ने विद्यालयले जनाएको छ ।


कात्तिक ३० गतेसम्म हुने सो कार्यक्रममा संयुक्त राष्ट्र सुरक्षा परिषद्, सामाजिक, मानवीय र सांस्कृतिक मुद्दा समिति, संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषद्, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्र मानव अधिकार परिषद्, शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम, अपराध रोकथाम तथा फौजदारी न्याय आयोग र अन्तर्राष्ट्रिय प्रेस गरी नौवटा कमिटीमा विद्यार्थीहरूले छलफल गर्नेछन् । साथै सो कार्यक्रमको संयोजन विद्यार्थी आफैँले गर्नेछन् ।


उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सौरभ ज्योतिले चुनौती आइरहने भएकाले ती चुनौतीसँग सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । युवा पुस्ताले ठुलो सपना देख्नुपर्ने र त्यसलाई पूरा गर्नका लागि १० वर्षे योजना बनाएर हरेक घण्टा, हरेक दिन, महिना सचेत हुँदै अगाडि बढ्नुपर्ने बताए ।


आफूले लिएको लक्ष्यमा समुदायको हित पनि समाहित हुनुपर्ने उनको धारणा थियो । राजनीतिक परिवर्तन, आर्थिक असमानता, सामाजिक विभाजनस्ता चुनौतीहरूले नयाँ पुस्ताको भविष्यलाई प्रत्यक्ष असर गरिरहेकाले अहिलेको विद्यार्थी पुस्ता सजगताका साथ अघि बढ्नुपर्ने बताए । यी चुनौतीबाट बच्न होइन, समाधान खोज्न युवावर्ग अगाडि उभिनुपर्नेमा जोड दिए ।


एमयुएन भावी पुस्तालाई सशक्त बनाउने, कूटनीतिक सीपहरू सिकाउने र विश्वव्यापी चेतनालाई बढावा दिने प्रमाणको रूपमा रहेको फेका अध्यक्ष श्रीराम दाहालले बताए । ‘वास्तविक विश्वका कूटनीतिक चुनौती, संस्कार र संस्कृति आदानप्रदान तथा सञ्जालका लागि एमयुएनले विद्यार्थीलाई एक अवसर प्रदान गरेको छ,’ उनले भने ।


शिक्षण सिकाइमा यस्ता कार्यक्रमले थप टेवा पु¥याउँदै नवीन सोचको विकास गर्ने र अनुसन्धानमूलक अध्ययन गर्ने बानीको विकास हुने युएन प्रवक्ता तथा कार्यक्रमकी मुख्य वक्ता रेश्मी सुनारले बताइन् । संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरूप्रति नेपालको निरन्तर प्रतिबद्धतालाई एमयुएनले प्रतिविम्बित गर्दै शिक्षा, समानता र वातावरणीय जागरुकता प्रवर्धन गर्ने उनको धारणा थियो ।


विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले विद्यालयले विगत ८ वर्षदेखि एएमयुएन सञ्चालन गर्दै आएको छ ।