काठमाडौँ महानगरले स्थानीय भाषाको पाठयक्रम संशोधन गर्ने

काठमाडौँ/२८ कार्तिक – काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठयक्रम र पाठयपुस्तकलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ । शिक्षा विभागले विज्ञ समूह गठन गरेर यो प्रक्रिया अगाडि बढाएको हो ।


बिहीबार नेपाल भाषाको पाठयक्रम तथा पाठय पुस्तकमा संशोधन तथा परिमार्जन समितिका पदाधिकारी तथा विषय विज्ञसँगको वैठकमा उपप्रमुख सुनिता डंगालले, सिकाइ विधिलाई निर्देशित गर्ने पाठयपुस्तकलाई बालमैत्री बनाउँदै लैजानु पर्ने भएकोले पाठयक्रम तर्जुमा गर्दा तथा पाठयपुस्तक पुनर्लेखन गर्दा ध्यान दिनु पर्ने बताइन ।


‘स्थानीय भाषाको पठनपाठन, पुस्तक पढाउने र परीक्षा लिने प्रक्रियाका लागि मात्र होइन । यसले पहिचान तथा रैथाने समुदायको मौलिकता र चिनारी स्थापित गर्छ । यो उद्देश्य पूरा गराउन सक्ने पाठयपुस्तक आवश्यक छ’ उनले भनिन् ।


साथै प्रभावकारी शिक्षणका लागि संस्थागत विद्यालयमा नेपाल भाषा अध्यापन गर्ने शिक्षक÷शिक्षिकाहरुलाई प्राथमिकतामा राखेर क्षमता विकास कार्यक्रम आयोजना गर्न निर्देशन दिएकी छन् ।


सामुदायिक विद्यालयका नेपाल भाषाका सहायक प्रशिक्षकहरुका लागि विभिन्न चरणमा तालिम दिइएकोले यस पटक संस्थागत विद्यालयका शिक्षक÷शिक्षिकालाई प्राथमिकतामा राखेर तालिम दिनु पर्ने उनको भनाइ थियो ।


काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम तर्जुमा गर्ने क्रममा कक्षा १ देखि कक्षा ८ सम्म नेपाल भाषाको पाठ्यपुस्तक ‘येँ देय् म्हसिके’ अर्थात् काठमाडौँलाई चिनौँ विषय पढाइरहेको छ । यससँगै तामाङ् भाषाको पाठ्य पुस्तक पनि कार्यान्वयनमा छ ।


यी विषयको परीक्षामा कक्षा ४ र ५ मा ७५ अङ्कको अभ्यासगत र २५ अङ्कको सैद्धान्तिक मूल्याङ्कन हुने गरेको छ । कक्षा ६, ७ र ८ मा भने ५० अङ्कको अभ्यासगत र ५० अङ्कको सैद्धान्तिक मूल्याङ्कन गर्ने गरिएको छ ।