कक्षा ७ मा पढ्दै गरेकी गीत पछाई ढकालको उपन्यास ’पोर्टल’ सार्वजनिक

काठमाडौं/२४ साउन-कक्षा ५ मा पढ्दै गरेकी गीत पछाई ढकालको उपन्यास ’पोर्टल’ को विमोचन गरिएको छ । अंग्रेजी भाषामा रहेको उक्त उपन्यास गीतको दोस्रो कृति हो ।


राजधानीमा शनिबार आयोजना गरीएको विमोचन कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र्रबहादुर कार्की रहेका थिए । विशेष अतिथि सहरी विकास मन्त्री मेटमणि चौधरी, वरिष्ठ साहित्यकार माया ठाकुरी, पूर्व अर्थमन्त्री एवं बरिष्ठ साहित्यकार शंकरप्रसाद कोइराला लगायत रहेका थिए ।


कृतिको विमोचन गर्दै प्रमुख अतिथि सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गीत पछाई ढकाललाई बधाई तथा शुभकामना दिदै प्रतिभा निकै सर्हानीय रहेको बताए । उनले नेपालमा मात्र नभई विश्वभर उनको कृतिले विशेष स्थान हासील गर्नेमा आशाबादी रहेको बताए ।


लेखिका गीतले आफ्नो लेखनमा पहिलेको भन्दा अहिले धेरै सुधार भएकाले पहिलो किताबमा भन्दा दोस्रोमा अझै राम्रो गर्न प्रयास गरेको बताइन् । आफ्नो उपन्यासलाई पढेर त्यसप्रतिको प्रतिक्रिया दिन सबै पाठकलाई आग्रह गरिन् ।


त्यसैगरि पूर्व अर्थमन्त्री तथा वरिष्ठ साहित्यकार शंकरप्रसाद कोइरालाले गीतलाई शुभकामना दिँदै एक १२ वर्षीया बालिकाले यति सुन्दर पुस्तक सार्वजनिक गरेकोमा खुसी व्यक्त गरे ।


कार्यक्रममा वरिष्ठ साहित्यकार माया ठाकुरीले गीतलाई बधाई दिँदै उनको कृति अँग्रेजीको साथै नेपालीमा पनि भए सबै साहित्यप्रेमीलाई पढ्न सजिलो हुने बताइन् । गीतले ८ वर्षको उमेरमा पहिलो पुस्तक ’द ट्रेजर हन्ट’ अँग्रेजी कथा संग्रह प्रकाशन गरेर नेपालमा सबैभन्दा कान्छो लेखकका रूपमा आफूलाई परिचित गराएकी थिइन्।