काठमाडौँ/२४ असोज – पूर्व शिक्षा मन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घसँग गरेको पछिल्लो सम्झौता कार्यान्वयन गर्न अनिवार्य रहेको बताएकी छन् । शिक्षामन्त्री महावीर पुनलाई ३० बुँदे सुझाब दिँदै सो कुरा बताएकी हुन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले फोन मार्फत तपाईँले सुरु गरेका योजना, काम र निर्देशन के के थिए सुझाव सहित पठाउनु होला भनेपछि आफूले सुझाब दिएको भट्टराईले बताएकी छन् । उनले पुनलाई दिएको सुझाब सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् ।
यसै सन्दर्भमा नेपाल शिक्षक महासङ्घ सँग गरेको पछिल्लो सम्झौता कार्यान्वयन गर्न अनिवार्य रहेको र यी विषयहरू विधेयक सँग भन्दा पनि मन्त्रालयले पटक पटक सम्झौता गरेको तर कार्यान्वयन नगरेका सवालहरू मात्र समावेश गरेर तयार गरिएको उनको भनाई छ ।
“यसमा शिक्षकको मर्यादाक्रम, निजामती सरह शिक्षकको ग्रेड मिलान र रकम कायम गर्ने, राहत अस्थायी शिक्षकको विरामी विदा संचित हुने र सेवाबाट अवकाश हुँदा एकमुस्ट रूपमा दिने व्यवस्था गर्ने, दुर्गम भत्ताको व्यवस्था, वाल विकासमा कार्यरत कार्यकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब निर्धारण र सामाजिक सुरक्षा कोषमा समावेश गर्ने, सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीलाई निजामती सरह स्वास्थ्य उपचारमा छुट दिने र अस्थायी प्रकृतिका सबै शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने आदि रहेका छन्” उनले भनेकी छन् ।



