काठमाडौँ /२३ असोज – आगामी वर्ष देखि कक्षा ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सोही अनुसार कम्प्युटर विषयको पाठ्यक्रम विकास गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको बताए ।
“आगामी वर्ष देखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोही अनुसार पाठ्यक्रम विकास गर्न निर्देशन दिएको छु” उनले भने ।
मन्त्री पुनले असोज २२ गते पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा छलफल तथा अवलोकन गरेका थिए ।
छलफलमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रलाई शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी सङ्ख्या ज्यादै न्यून रहेको विद्यालयहरू मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यापकहरूको नियुक्ति गर्न देशै भरि लागु हुने गरी कार्यविधि बनाउने, अनलाईन सिकाईको लागि डिजिटल शैक्षिक सामाग्रीहरू निर्माणमा जोड दिने कार्यक्रम बनाउन निर्देशन दिएका छन् ।
यसैगरी पाठ्यक्रम विकास केन्द्रकोमा सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अद्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधान सम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथमिकता दिने निर्देशन दिएका छन् ।



