काठमाडौँ /९ असोज – नेपालको समाज र संस्कृति बहुलता, विविधता र साझा पहिचानले बुनिएको छ। यही बहुलताभित्र जन्मिएका चाडपर्वहरू – विशेषतः दशैं, तिहार र छठ – केवल अनुष्ठान र मनोरञ्जनका अवसर होइनन्, बरु नेपाली जीवन–दर्शन, नैतिक मूल्य र सामाजिक सम्बन्धको जिउँदो पाठशाला हुन्। यिनीहरूलाई निरपेक्ष र केवल धार्मिक–सांस्कृतिक दृष्टिले मात्र व्याख्या गर्दा विद्यार्थीको जीवनमा हुने गहिरो प्रभाव र शिक्षण–सन्दर्भलाई छोडिन्छ । चाडपर्वहरू सामाजिक–नैतिक विकासका अवसर पनि हुन्, उपभोक्तावादी र अन्धविश्वासी अभ्यासका जोखिम पनि हुन्, र राज्य तथा विद्यालयले सक्षम नीति र व्यवहारमार्फत यी अवसरलाई सकारात्मक शिक्षणमा परिणत गर्न सक्ने सम्भावनासहितको गहिरो चुनौती पनि हुन् ।
दशैं, तिहार र छठ जस्ता पर्वहरूलाई नेपाली समाजले परम्परागत रूपमा आध्यात्मिक विश्वास, सामूहिक मिलन र सामाजिक पहिचानको अभ्यासका रूपमा मानेको छ। दशैं देवी दुर्गाले असुरमाथि पाएको विजयको कथा हो, तर यसको गहिरो अर्थ ‘सत्यको विजय’, ‘असत्य र अन्यायविरुद्धको साहस’ र ‘नैतिक जागरण’ हो । जब विद्यार्थीहरू परिवारमा बुढापाकाबाट टीका–जमरा र आशीर्वाद ग्रहण गर्छन्, त्यो केवल विधि मात्र होइन, सम्मान, दायित्व र सम्बन्धका मूल्यहरू सिक्ने व्यवहारिक पाठ पनि हो।
तर यसलाई केवल अनुष्ठानको सीमामा राख्दा विद्यार्थीमा आलोचनात्मक सोच, विवेक र न्यायको पक्षमा उभिने नैतिक साहसको पाठ अधुरै रहन्छ । विद्यालय र शिक्षकले दशैंको सन्देशलाई व्यावहारिक शिक्षामा रूपान्तरण गरी सत्य, न्याय र नैतिकताको मूल्यलाई परियोजना, बहस र लेखनजस्ता क्रियाकलापमार्फत विद्यार्थीमा रोप्न सक्ने सम्भावना छ ।
तिहारको अभ्यासले विद्यार्थीलाई करुणा, सहअस्तित्व र सामूहिकताका मूल्यहरू सिकाउने अवसर प्रदान गर्छ । काग, कुकुर, गाई–गोरु पूजादेखि भाइ–टीकासम्मका अभ्यासहरूले मानव–प्राणी सम्बन्ध, पारिवारिक बन्धन र सामाजिक एकताको प्रतिकात्मकता बोकेको छ । विशेषगरी कुकुरपूजा वा कुकुर तिहार जस्ता संस्कारहरूले विद्यार्थीलाई जनावरप्रति करुणा, हेरचाह र जिम्मेवारीबोधको पाठ दिन सक्छ। देउसी–भैलो जस्ता सामूहिक गीत–नृत्यले विद्यार्थीमा सहकार्य, सामाजिक पूँजी र साझा उत्सवको आनन्द बाँड्ने अभ्यास सिकाउँछन् । यस्ता अभ्यासहरू विद्यालयले समन्वय गरी ‘सेवा–अधारित’ शिक्षण (service learning) को रूपमा रूपान्तरण गरे विद्यार्थीमा करुणा, सहिष्णुता र सामाजिक उत्तरदायित्वको गुण गहिरो रूपमा रोपिन सक्छ ।
छठ पर्वले विद्यार्थीलाई अनुशासन, स्वच्छता र वातावरणीय चेतनाको अभ्यास गराउन सक्छ। उपवास, नदी–ताल सफाइ, सूर्यपूजा र अघ्र्यका क्रियाकलापहरूले धैर्य, आत्मसंयम र सामूहिक जिम्मेवारीका मूल्यहरू जगाउँछन्। विशेषगरी छठ पर्वको अवसरमा सामूहिक रूपमा नदी, ताल र घाट सफा गर्ने परम्पराले सार्वजनिक स्थान र प्राकृतिक स्रोतप्रति जिम्मेवारीबोध र पारिस्थितिक चेतनाको अभ्यास गराउँछ । विद्यालयहरूले छठ पर्वलाई विज्ञान र समाज–सेवाको परियोजनामा जोडेर विद्यार्थीलाई स्वच्छता, जलस्रोत संरक्षण र दिगोपनामा आधारित व्यवहार सिकाउन सक्ने सम्भावना छ ।
तर यी सबै अवसरहरूलाई सधैं सकारात्मक दृष्टिले मात्र हेर्न सकिँदैन । बजारवाद, विज्ञापन र सामाजिक सञ्जालले पर्वहरूलाई भोग–विलास र अतिशयोक्त उपभोगमा बदलिरहेका छन्। दशैंमा अत्यधिक ऋण लिएर खर्च गर्ने प्रवृत्ति, तिहारमा ध्वनि र वायु प्रदूषण बढाउने आतिशबाजी र अत्यधिक बिजुलीको प्रयोग, छठमा भीड, फोहोर र प्रदूषणका समस्या – यी सबै विद्यार्थीका लागि नकारात्मक उदाहरण बन्न सक्छन्। अझ अन्धविश्वास, बलिदान र विवेकविहीन आचरणले विवेकशीलता र वैज्ञानिक दृष्टिकोणको विकासमा बाधा पु¥याउन सक्छ। विद्यार्थीलाई संस्कारको नाममा विवेकको गहिरो अभ्यासबिना केवल परम्परागत अनुकरण गराइयो भने त्यो शिक्षाप्रद होइन, हानिकारक हुन सक्छ ।
यसैले विद्यालय र शिक्षकको भूमिकाले निर्णायक महत्त्व राख्छ । विद्यालयले पाठ्यक्रममा चाडपर्वका विषयवस्तुहरूलाई केवल जानकारी दिने सामग्रीको रूपमा होइन, आलोचनात्मक–विश्लेषणात्मक अभ्यासका रूपमा राख्नुपर्छ । उदाहरणका लागि, दशैंको सन्देशलाई लिएर विद्यार्थीलाई ‘सत्यको विजय आजको समाजमा कसरी सम्भव छ?’ भन्ने विषयमा वादविवाद गराउने, तिहारको अभ्यासलाई ‘जनावर र मानव सम्बन्धमा दया र दायित्वको मूल्य’ शीर्षकमा निबन्ध लेखाउने, छठ पर्वलाई लिएर ‘हामीले वातावरणीय जिम्मेवारीमा के सिक्यौं?’ भन्ने परियोजना तयार गराउने । यस्ता क्रियाकलापहरूले विद्यार्थीलाई संस्कार र विवेकलाई जोडेर सोच्न प्रेरित गर्छन् ।
अर्को व्यवहारिक उपाय भनेको सेवा–अधारित अभ्यास हो। विद्यालयहरूले दशैं, तिहार र छठजस्ता पर्वहरूमा विद्यार्थीलाई वृद्धाश्रम, अनाथालय वा सार्वजनिक स्थल सफाइ जस्ता कार्यमा संलग्न गराउन सक्छन् । यसले ‘सेवा नै साँचो उत्सव’ भन्ने मूल्य स्थापित गर्छ र विद्यार्थीलाई संस्कारलाई व्यवहारमा उतार्ने अवसर दिन्छ। देउसी–भैलो जस्ता परम्परालाई पनि केवल मनोरञ्जन नभई ‘फण्डरेजिङ’ र सामाजिक परियोजनाको स्रोतका रूपमा उपयोग गरी अनाथ बालबालिका, विपन्न विद्यार्थी वा स्थानीय पुस्तकालयलाई सहयोग गर्न सकिन्छ ।
मिडिया साक्षरता पनि पर्व शिक्षणमा महत्त्वपूर्ण छ । विज्ञापन, बजार र सामाजिक सञ्जालले पर्वलाई कसरी उपभोक्तावादी बनाइरहेका छन् भन्ने बारे विद्यार्थीलाई आलोचनात्मक अध्ययन गराएर विवेकशील उपभोक्ता बनाउन सकिन्छ । यसले उनीहरूलाई भविष्यमा परम्परा र बजारबीचको सन्तुलन बुझ्ने क्षमता विकास गर्न मद्दत गर्छ ।
नेपालको स्थानीय सांस्कृतिक अभ्यासहरू आफैंमा एक प्रकारको स्वदेशी शिक्षणपद्धति (indigenous pedagogy) हुन् । जब विद्यालयले यस्ता अभ्यासलाई औपचारिक पाठ्यक्रमसँग जोड्छ, सिकाइमा अर्थ र सन्दर्भ थपिन्छ । विद्यार्थीले पाठ्यपुस्तकमा पढ्ने ‘नैतिक शिक्षा’ केवल शब्द रहँदैन, त्यो व्यवहार र अनुभवमा परिणत हुन्छ । यही कारणले शैक्षिक नीतिनिर्माताले स्थानीय पर्वहरूलाई सिकाइ–सन्दर्भका रूपमा आधिकारिकरूपमा समेट्न विचार गर्नुपर्ने हुन्छ ।
त्यसैले दशैं, तिहार र छठजस्ता पर्वहरूमा निहित मूल्यहरू – सत्य र न्यायको पक्षमा उठ्ने साहस, सहअस्तित्व र दया, आत्मअनुशासन र पर्यावरणीय जिम्मेवारी – विद्यार्थीको चरित्र निर्माणमा अमूल्य हुनसक्छन् । तर यसको लागि विद्यालय र अभिभावकले पर्वलाई सजाय–उत्सव भन्दा माथि उठाएर ‘शिक्षण–अनुभव’ मा परिणत गर्नुपर्छ । शिक्षक प्रशिक्षणमार्फत पर्वशिक्षण festival pedagogy) को अभ्यास फैलाउन, स्थानीय समुदायसँग साझेदारी गरी पर्वको सकारात्मक शिक्षण उपयोगिता सुनिश्चित गर्न र बजारवाद तथा अन्धविश्वासका नकरात्मक प्रभावहरू विरुद्ध सजगता र मिडिया साक्षरतामा जोड दिन जरुरी छ ।
यदि हामीले पर्वलाई केवल मनाउनका लागि मात्र होइन, सिक्न र सिकाउनका लागि प्रयोग गर्न थाल्यौं भने मात्रै विद्यार्थीमा सत्यको पक्षमा उभिन सक्ने साहस, विवेकशील सोच र मानवतामा दृढ विश्वास जगाउन सकिन्छ । परिवार र समुदायले पनि पर्वलाई जीवन्त नैतिक पाठशालामा बदल्ने साझा जिम्मेवारी लिने हो भने यी परम्पराहरूले भविष्यका जिम्मेवार, विवेकशील र दयालु नागरिक तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।
नेपालका मुख्य चाडपर्वहरू केवल सांस्कृतिक सम्पत्ति होइनन्, विद्यार्थीलाई संस्कार सिकाउने अमूल्य साधन पनि हुन् । तर ती साधनलाई प्रभावकारी शिक्षणमा परिणत गर्ने काम विद्यालय, अभिभावक, समुदाय र नीतिनिर्माताको साझा जिम्मेवारी हो । जब यो साझेदारी सफल हुन्छ, तब मात्र परम्परा र आधुनिकताको सन्तुलनमा उभिएको शिक्षित, विवेकशील र मानवतावादी पुस्ता तयार पार्न सकिन्छ ।
लेखक डम्मर सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।



