काठमाडौँ /५ असोज – ल्याभेन्डर प्रि–स्कुलले मण्डला थिएटरमा आयोजना गरेको नाट्य–कार्यक्रममा यूकेजी, एलकेजी र नर्सरीका स–साना बालबालिकाहरूले आफ्नो कला, सिर्जनशीलता र आत्मविश्वास प्रदर्शन गरेका छन् । उनिहरूले गिभिङ ट्री, स्नो ह्वाइट र सात बौना (सङ्गीतमय) नाटक प्रस्तुत गरेका थिए ।
गिभिङ ट्रीको निर्देशन विकास जोशीले गरेका थिए । नाटकले निःस्वार्थ प्रेम, त्याग र कृतज्ञताको अमूल्य सन्देश दिन्छ, स–साना नानीहरूले स–साना हात र निर्मल मुटुबाट प्रस्तुत गर्दा दर्शकहरू स्तब्ध भए । साथै अर्को स्नो ह्वाइट र सात बौना (सङ्गीतमय नाटक) थियो । रङ्गीन पोसाक, निर्मल स्वर र स–साना हातहरूको अभिनयले सम्पूर्ण थिएटरलाई परी–लोक जस्तै बनाएको थियो ।

बिहान ११ बजे शिक्षक–विद्यार्थी–प्रिन्सिपलका लागि र दिउँसो ३ बजे अभिभावकका लागि गरेर नाटक दुई पटक प्रदर्शन गरिएको थियो । नाटकको अन्त्यमा उनीहरूको मेहनत, प्रतिभा र योगदानको उचित सम्मान गर्ने उदेश्यले यूकेजीका सबै बालबालिकाहरूलाई सम्मान स्वरूप रु ४ हजार पुरस्कार प्रदान गरियो ।
विद्यालयकी संस्थापक लिडेयाले विद्यालयका बालबालिकाहरू केवल विद्यार्थी मात्र नभई भविष्यका कर्ता रहेको बताइन । उनले भनिन् ट्रीले हामीलाई त्याग र माया सिकाउँछ, जसरी रुखले आफ्नो जीवन अर्पण गर्छ, त्यसरी नै यी नानीहरूले भोलि समाजलाई उज्यालो दिनेछन् । सम्पूर्ण शिक्षक टोली, अभिभावक र बालबालिकाको मेहनत, माया र सहयोग बिना आजको यो उपलब्धि सम्भव थिएन ।
उनले नाटक प्रदर्शन मात्रै नभएर माया, सपना र भविष्यमा लगाइएको बीउको उत्सव रहेको बताउँदै बालबालिकाको आत्मविश्वास, टोली भावना, सिर्जनशीलता र सम्मानप्रतिको भावले सम्पूर्ण विद्यालय, शिक्षक टोली र अभिभावकलाई गर्व र प्रेरणाले भरिएको बताइन । थिएटर बालबालिकाहरूको कला मात्र नभई उनीहरूको जीवनको पाठशाला रहेको उनको भनाई थियो ।



