नेपालमै बसेर उत्कृष्ट शिक्षा लिन सकिन्छ : मन्त्री सिंह

काठमाडौं/२० भदौ – उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहल नेपालमै बसेर उत्कृष्ट शिक्षा लिन सकिने बताएका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।


उनले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा हटिसकेको बताउँदै भने ‘यहाँका विद्यार्थी केबल शिक्षित मात्र होइन, सक्षम, दक्ष र प्रतिस्पर्धी पनि छन् । स्वदेशमै उत्कृष्ट शिक्षा लिन सकिन्छ भन्ने उदाहरण यो क्याम्पसले प्रस्तुत गरेको छ ।’


“कन्या बहुमुखी क्याम्पसको विगत ४५ वर्षको यात्रा अत्यन्तै प्रेरणादायक रहेको र महिला शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएको उल्लेख गरे । ‘यस क्याम्पसले नारीको शिक्षामा मात्र नभई समग्र शिक्षा प्रणालीमै गुणस्तरीय योगदान पु¥याउँदै आएको छ । देशका करिब ६० भन्दा बढी जिल्लाका विद्यार्थी यस क्याम्पसमा अध्ययनरत छन् । यसबाट नै यहाँको लोकप्रियता र प्रभाव स्पष्ट हुन्छ” उनले भने ।


साथै सरकारले क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र प्राविधिक सशक्तीकरणमा आवश्यक सहयोग गर्न तत्पर रहेको उनको भनाई थियो । क्याम्पसलाई अझ बलियो र आधुनिक बनाउन राज्यले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने देखिएको र शिक्षाको स्तरोन्नति र गुणस्तर वृद्धिका लागि सरकारले सक्दो सहयोग गर्ने बताए ।