काठमाडौं/३२ असार – परीक्षाको चिन्ता अर्थात् परीक्षा–आतङ्कलाई केवल व्यक्तिगत समस्या मात्र नभई सम्पूर्ण शैक्षिक प्रणालीले सामना गर्नुपर्ने गम्भीर चुनौतीको रूपमा लिन आवश्यक छ । नेपाल जस्ता परीक्षामुखी शिक्षा प्रणालीमा जहाँ विद्यार्थीको क्षमता प्रायः लिखित उत्तरपुस्तिकामा आधारित अंकबाट मापन गरिन्छ, त्यहाँ परीक्षा–आतङ्कले विद्यार्थीको वास्तविक क्षमता प्रदर्शनमा ठूलो अवरोध पु¥याउँछ । यो मानसिकता प्राय पारिवारिक अपेक्षा, सामाजिक दबाब र प्रतिस्पर्धात्मक वातावरणबाट जन्मिन्छ, जसले दीर्घकालीन रूपमा विद्यार्थीको सिकाइप्रति रुचि घटाउने र आत्मविश्वास कमजोर बनाउने जोखिम बोकेको हुन्छ । शिक्षा प्रणालीले मूल्याङ्कनको प्रक्रियालाई मात्र होइन, मूल्याङ्कनकै अवधारणालाई पुनर्विचार गर्न आवश्यक छ, ताकि विद्यार्थीलाई तनाव मुक्त, सहज र सशक्त सिकाइ वातावरण प्रदान गर्न सकियोस् ।
मनोवैज्ञानिक दृष्टिकोणले परीक्षा–आतङ्क प्रदर्शन–आतङ्कको एक विशेष प्रकार हो जुन विद्यार्थीको सोच, भावना र शारीरिक प्रतिक्रियामा गहिरो प्रभाव पार्छ । यसले मूल्याङ्कनका बेला उत्पन्न हुने डर, चिन्ता र तनाव मार्फत नकारात्मक सोचलाई जन्म दिन्छ, जसले विद्यार्थीलाई तयारी भएपनि आत्मविश्वास गुमाउन बाध्य पार्छ । शारीरिक (जस्तै मुटुको धड्कन तेज हुनु, पसिना आउनु) र मानसिक (जस्तै दिमाग खाली हुनु, निराशा) लक्षणहरूले परीक्षा–आतङ्क केवल सामान्य चिन्तामा सीमित नरहेको, बरु गहिरो मनोवैज्ञानिक अवस्था भएको प्रमाणित गर्छ । त्यसैले यसको समाधान विद्यार्थीको मात्र होइन, शिक्षण विधि, मूल्याङ्कन प्रक्रिया, पारिवारिक सहयोग र मानसिक स्वास्थ्य सेवासँग समन्वय गर्न आवश्यक छ ।
परीक्षा–आतङ्कका लक्षणहरू शारीरिक र मानसिक रूपमा दुवै स्पष्ट देखिन्छन् र यसले विद्यार्थीको परीक्षामा मात्रै नभई दीर्घकालीन शैक्षिक यात्रामा पनि नकारात्मक प्रभाव पार्दछ । धेरै विद्यार्थीहरूले प्रश्नपत्र हेर्दा नै अत्यधिक तनावका कारण हात–खुट्टा काम्ने, श्वास छोटो हुने वा पेट दुख्ने जस्ता समस्या अनुभव गर्छन् । मनोवैज्ञानिक रूपमा “म असफल नै हुन्छु” भन्ने नकारात्मक पूर्वधारणाले उनीहरूलाई निराश र भ्रमित बनाउँछ, जसले मस्तिष्कलाई प्रभावकारी रूपमा काम गर्नबाट रोक्छ । परिणामस्वरूप, विद्यार्थीले प्रश्नलाई सही रूपमा बुझ्न नसक्ने, लेख्न असमर्थ हुने र परीक्षा परिणाम अपेक्षित भन्दा कमजोर हुने अवस्था उत्पन्न हुन्छ । यस्तो अवस्था व्यवस्थापन नगरेमा विद्यार्थीको आत्मविश्वासमा ठूलो क्षति पुग्छ र उनीहरू शैक्षिक मार्गमा पछि पर्न सक्छन् ।
परीक्षा–आतङ्कका कारणहरू बहुआयामिक र गहिरो रूपमा अन्तर सम्बन्धित छन् । सामाजिक दृष्टिले ‘उच्चअंक ल्याउनुनै सफलता हो’ भन्ने परम्परागत मान्यताले विद्यार्थीमा अत्यधिक दबाब सिर्जना गर्छ, जसले उनीहरूलाई मानसिक रूपमा अस्वस्थ बनाउँछ । अभिभावक, शिक्षक र सहपाठीबाट आउने अपेक्षा र तुलना पनि तनाव र आतङ्कको स्रोत बन्ने गरेको छ । मनोवैज्ञानिक दृष्टिले हेर्दा, अघिल्ला असफल अनुभवले विद्यार्थीमा आत्मविश्वास घटाउने र कमजोरीको भावना जागृत गर्ने काम गर्छ । त्यसैगरी, अपर्याप्त तयारी र अध्ययन सिपको अभावले आत्मग्लानि थप बढाउँछ । साथै, ‘केही नोक्सानी हुन्छ’ भन्ने अमूर्त भयलाई मनोविज्ञानमा अव्यावहारिक विश्वास भनिन्छ, जसले विद्यार्थीको सोच र व्यवहारलाई विकृत बनाउँछ । यस्ता विश्वासहरू समयमै सच्याउन नसकिने हो भने परीक्षा–आतङ्क झन गहिरो मनोवैज्ञानिक समस्याको रूप धारण गर्न सक्छ ।
परीक्षा–आतङ्कले विद्यार्थीको श्रवण, स्मृति र तर्क क्षमतामा प्रत्यक्ष नकारात्मक प्रभाव पार्दछ । जब विद्यार्थीले आफूले सिकेको वा बुझेको भन्दा कम नतिजा ल्याउँछन्, तब उनीहरूको आत्मविश्वासमा कमी आउँछ र पुनः तनावको चक्र सुरु हुन्छ । यस निरन्तर दोहोरिने मानसिक तनावले कक्षा सहभागिता घटाउने, सिकाइप्रतिको उत्साह मेट्ने, र अन्ततः शैक्षिक उपलब्धिमा बाधा पु¥याउने काम गर्छ । यस्तो वातावरणले केवल विद्यार्थीलाई पछाडि पार्छ, शिक्षण–अध्ययन प्रक्रियामा समेत नकारात्मक प्रभाव पार्दै सम्पूर्ण सिकाइ वातावरणलाई कमजोर बनाउँछ । यसले दीर्घकालीन रूपमा शैक्षिक गुणस्तर र विद्यार्थीको समग्र विकासमा पनि समस्या निम्त्याउन सक्छ ।
मनोवैज्ञानिक दृष्टिले परीक्षा–आतङ्कको अवस्था अत्यन्तै गम्भीर छ । दीर्घकालीन चिन्ताले विद्यार्थीको शारीरिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्छ, जसमा निद्रामा समस्या, खानपानमा असन्तुलन, र डिप्रेसन जस्ता जटिल अवस्थाहरू देखिन सक्छन् । यस्तो मानसिक अवस्थाले विद्यार्थीमा “म असफल विद्यार्थी हुँ” भन्ने नकारात्मक आत्मछवि विकास गर्छ, जसले तिनीहरूको व्यक्तिगत पहिचान र आत्मसम्मानमा गहिरो चोट पु¥याउँछ । कमजोर आत्मसम्मानका कारण विद्यार्थीहरू केवल परीक्षा सामना गर्न मात्र होइन, अन्य चुनौतीपूर्ण गतिविधिहरूबाट समेत पछि हट्न थाल्छन् । यसले परीक्षा–आतङ्कबाट उत्पन्न हुने ‘टाढा रहने व्यवहार’लाई विशेष महत्त्व दिन्छ । कतिपय विद्यार्थी परीक्षा दिनुपर्ने दिन बिरामी हुने बहाना बनाउँछन्, कोचिङ कक्षा र अतिरिक्त अभ्यास छोड्छन्, वा परामर्श सत्रबाट टाढा रहन्छन् । चरम अवस्थामा त उनीहरूले आफ्नो शैक्षिक यात्रा नै छोड्ने निर्णय पनि गर्न सक्छन्, जसले उनीहरूको करिअर र व्यक्तिगत विकासमा दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्न सक्छ । यसले सामाजिक र आर्थिक रूपमा पनि ठूलो समस्या निम्त्याउन सक्छ ।
परीक्षा–आतङ्कको प्रभाव केवल व्यक्तिगत र शैक्षिक सीमामा सीमित नभई समग्र समाजमा समेत देखिन्छ । जब ठूलो सङ्ख्यामा युवापुस्ता आफ्नो सीप, ज्ञान र क्षमताको उचित प्रदर्शन गर्न असमर्थ हुन्छन्, तब उनीहरूको योगदान राष्ट्रिय समृद्धिमा कमी आउँछ । यसले श्रम बजारमा आत्मविश्वासहीन, कम दक्ष र तनावग्रस्त जनशक्ति उत्पादन गर्छ, जसको परिणामस्वरूप उत्पादकत्व, नवप्रवर्तन क्षमता र दीर्घकालीन विकास सूचकहरूमा असर पर्छ । परीक्षा–आतङ्कले देखिने रूपमा त स्पष्ट नदेखिए पनि, यसले राष्ट्रिय मानव पूँजी विकासमा सूक्ष्म तर गहिरो अवरोध सिर्जना गरिरहेको हुन्छ । त्यसैले यो समस्या केवल शैक्षिक मात्र नभई आर्थिक, सामाजिक र नीति–निर्माणका दृष्टिले पनि गम्भीर विषय हो र यसलाई समग्र दृष्टिकोणबाट सम्बोधन गर्न आवश्यक छ ।
परीक्षा–आतङ्क जस्ता जटिल समस्यालाई समाधान गर्न विभिन्न वैज्ञानिक र व्यवहारिक उपायहरू प्रस्तावित छन्, जसमा संज्ञानात्मक–व्यवहारात्मक उपचार (ऋद्यत्) सबैभन्दा प्रभावकारी विधि मानिन्छ । ऋद्यत् ले विद्यार्थी भित्र लुकेको नकारात्मक सोच, भ्रम र अव्यावहारिक विश्वासहरूलाई पहिचान गरी तर्कसङ्गत र यथार्थपरक सोचमा रूपान्तरण गर्न मद्दत गर्छ । उदाहरणका लागि, “म सधैँ असफल हुन्छु” भन्ने निराशाजनक सोचलाई “म आफ्नो तयारी अनुसार उत्तम प्रयास गर्छु र नतिजा सुधार हुनेछ” भन्ने सकारात्मक सोचले प्रतिस्थापन गर्न सकिन्छ । यसप्रकारको मानसिक पुनः संरचनाले विद्यार्थीलाई परिस्थिति नियन्त्रणमा लिन र तनावसँग प्रभावकारी रूपमा जुध्न सक्षम बनाउँछ । विद्यालय वा शैक्षिक संस्थानहरूले परामर्श दाताको व्यवस्था गरी ऋद्यत् आधारित तालिम तथा कार्यशाला सञ्चालन गरेमा विद्यार्थीको मानसिक स्वास्थ्यमा सुधार आउने मात्र नभई उनीहरूको शैक्षिक क्षमता पनि पूर्ण रूपमा विकास हुने सम्भावना बलियो हुन्छ ।
साथै, आराम विधि र माइन्डफुलनेस अभ्यासले पनि परीक्षा–आतङ्क न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्छ । गहिरो सास प्रश्वास, प्रगतिशील स्नायु–आराम (PMR), र निर्देशित ध्यान जस्ता अभ्यासहरूले विद्यार्थीको तनावलाई तुरुन्त कम गरी मस्तिष्कलाई वर्तमान क्षणमा केन्द्रित गराउँछन् । यसले भविष्यका असफलता प्रतिको अनावश्यक चिन्ताबाट मुक्ति दिलाउने काम गर्छ । नियमित माइन्डफुल मेडिटेसनले ध्यान केन्द्रित गर्ने क्षमता विकास गरी चिन्तालाई न्यून गर्छ भने परीक्षा सुरु हुनु अघिको छोटो समयको सचेत श्वासप्रश्वास अभ्यासले मानसिक स्थिरता प्रदान गर्छ । यस्तै, समय व्यवस्थापन र अध्ययन रणनीति निर्माण पनि परीक्षा–आतङ्क नियन्त्रणका लागि अत्यावश्यक छ । अध्ययन सामग्रीलाई साना खण्डमा विभाजन गर्ने, आफूले नै प्रश्न बनाएर अभ्यास गर्ने, र प्रशस्त पुनरावृत्ति जस्ता वैज्ञानिक विधिहरूले दीर्घकालीन सम्झना सुदृढ पार्दछन् र विद्यार्थीलाई तयारीमा आत्मविश्वासी बनाउँछन् । त्यसैगरी, नमुना परीक्षाले विद्यार्थीलाई वास्तविक परीक्षा वातावरणमा अभ्यस्त बनाउँछ, जसले ‘अज्ञातको भय’ कम गर्छ । शिक्षकले नियमित निर्माणात्मक मुल्यांकन मार्फत कमजोरी पहिचानगरी सुधारको अवसर दिनुपर्छ भने, अभिभावकले पनि नतिजा भन्दा प्रयास र प्रक्रियालाई महत्व दिँदै सहयोगी वातावरण सिर्जना गर्नुपर्छ । यसरी बनेको समर्थन मूलक परिवेशले विद्यार्थीलाई सुरक्षित महसुस गराउँदै परीक्षा–आतङ्कलाई कम गर्न निर्णायक भूमिका खेल्छ ।
यद्यपि संज्ञानात्मक उपचार, आराम विधि, अध्ययन रणनीति र अभ्यास परीक्षा जस्ता उपायहरू प्रभावकारी छन्, मेरा दृष्टिमा केही थप उपायहरू पनि समावेश गर्न सकिन्छ, जसले परीक्षा–आतङ्क घटाउन अझ सघन रूपमा भूमिका खेल्न सक्छन् । पहिलो, सहकर्मी प्रेरणा तथा समूह अध्ययन सत्र अत्यन्त उपयोगी छन् । एउटै प्रकारको मानसिक अवस्थाबाट गुज्रीरहेका विद्यार्थीहरू जबसँगै बसेर अनुभव र भावनाहरू साझा गर्छन्, त्यहाँ आत्मीयताको विकास हुन्छ, जसले डर र असहजतालाई न्यून पार्छ । विशेष गरी, परीक्षा–आतङ्क पार गरेर सफल भएका विद्यार्थीलाई पीयरमेन्टरका रूपमा अघिल्याउनु मनोवैज्ञानिक रूपमा फलदायी हुन्छ । यस्ता पीयरमेन्टरहरूले आफ्ना अनुभव सन्देशका रूपमा प्रस्तुत गर्दा अरू विद्यार्थीले “म पनि सक्दछु” भन्ने सोच विकसित गर्न सक्छन् ।
दोस्रो, विद्यालय तहदेखि नै भावनात्मक बुद्धिमत्ता तालिम समावेश गर्नु आवश्यक छ । आजको शिक्षा प्रणालीमा केवल संज्ञानात्मक सीप होइन, भावनात्मक सन्तुलनको विकास पनि अपरिहार्य बनिसकेको छ । जब विद्यार्थीले आफ्ना भावना चिन्ने, नियन्त्रित गर्ने र अरूको भावना बुझ्ने सीप सिक्छन्, तब परीक्षाको तनावलाई सामना गर्ने आत्मबल बलियो बन्छ । इआई आधारित शिक्षाले विद्यार्थीलाई केवल परीक्षा मात्रै होइन, जीवनका अन्य तनाव जन्य अवस्थासँग पनि सम्हालिन सक्ने बनाउँछ । तेस्रो, लचकदार मूल्याङ्कन प्रणालीको अभ्यास आवश्यक छ । सबै विषय र विद्यार्थीहरू एकै ढाँचाको बन्द–पुस्तक, समयबद्ध परीक्षा प्रणालीमा सहज हुँदैनन् । प्रोजेक्ट कार्य, मौखिक प्रस्तुति, खुला–पुस्तक परीक्षा जाँचले विविध अध्ययन–शैलीको सम्मान गर्छ र मूल्याङ्कनलाई व्यावहारिक, समावेशी र लचकदार बनाउँछ । यस्तो मूल्याङ्कनले केवल सूचना सम्झनामा नभई, त्यसको प्रयोग, प्रस्तुति र विश्लेषणमा आधारित क्षमताको परीक्षण गर्छ, जसले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्न सक्दछ ।
परीक्षा–आतङ्क न्यूनीकरणका सन्दर्भमा चौथो महत्त्वपूर्ण पक्ष अभिभावक सचेतना हो । नेपाल जस्तो समाजमा अभिभावकहरू प्रायः अंकलाई सफलता र प्रतिष्ठासँग जोड्ने प्रवृत्तिमा हुन्छन्, जसले बालबालिकामा अनावश्यक दबाब सिर्जना गर्छ । यस्ता अंक–केन्द्रित अपेक्षाले बालबालिकाको मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्छ । त्यसैले शैक्षिक संस्थाहरूले अभिभावकलाई विद्यार्थीको भावनात्मक अवस्था, प्रयासको महत्व, र सकारात्मक प्रोत्साहनका प्रभावबारे अवगत गराउने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ । जब अभिभावकले ‘अंक’ भन्दा पनि ‘प्रयासर प्रगति’को कदर गर्न थाल्छन्, त्यसले विद्यार्थीको आत्मबल बढाउँछ, जुन दीर्घकालीन शैक्षिक यात्राका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ ।
पाँचौँ उपायको रूपमा, शैक्षिक संस्थानले‘टेस्ट रेडिनेस’ कार्यशाला नियमित रूपमा सञ्चालन गर्न सक्ने छन् । यस्ता कार्यशालामा परीक्षाका लागि दीर्घकालीन तयारी, लक्ष्य निर्धारण, लचिलो तालिका निर्माण, तनाव व्यवस्थापन, र संकट सामना गर्ने क्षमता विकास जस्ता विषयहरू समेटिन सक्ने छन् । परीक्षा नजिकिँदैमा मात्र तयारी गर्ने अस्वस्थ संस्कृतिको सट्टा, यस्तो कार्यशालाले निरन्तर र सुदृढ तयारी तर्फ विद्यार्थीलाई प्रेरित गर्छ ।
अन्ततः, परीक्षा–आतङ्क केवल उत्तेजनाको क्षणिक प्रतिक्रिया होइन; यो गहिरो मनोवैज्ञानिक अवस्था हो, जसले विद्यार्थीको शैक्षिक भविष्य, आत्म पहिचान र सामाजिक स्थितिसम्म असर गर्न सक्छ । त्यसैले, यसलाई समाधान गर्न विद्यमान उपायहरू—जस्तै CBT, माइन्डफुलनेस, अध्ययन सिप विकास, नमुना परीक्षा अभ्यास, र समर्पित शिक्षक–अभिभावकको समर्थन—बाहेक पनि संस्थागत लचकता, भावनात्मक शिक्षाको सशक्तीकरण र समष्टिगत सहकार्य आवश्यक छ । परीक्षा ज्ञानको परीक्षण हो, तनावको होइन भन्ने सन्देश संस्थागत रूपमा स्थापित गरिँदा मात्रै हामी विद्यार्थीलाई परीक्षा भन्दा माथि उठ्न मद्दत गर्न सक्ने छौँ ।
(लेखक : डम्मर सिंह साउद, उपप्राध्यापक, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस ।)



