प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले उपकुलपति नियुक्त गर्नु दुर्भाग्य : नेविसंघ

काठमाडौं/२५ असार – विश्वविद्यालयका क्याम्पसहरूमा मेरिटोक्रेसीप्रति चासो र समर्थन बढिरहेको बेला प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले उपकुलपति नियुक्त गरिएको भन्दै नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले आपत्ति जनाएको छ ।


कुनै स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव वा व्यवस्थापकीय दक्षताको बेवास्ता गर्दै प्रा.डा. दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु अत्यन्त दुर्भाग्यपूर्ण भएको नेपाल विद्यार्थी संघले विज्ञप्ति मार्फत धारणा सार्वजनिक गरेको हो ।


नेपाल विद्यार्थी संघले विश्वविद्यालयको नेतृत्वमा पारदर्शिता र योग्यता सुनिश्चित गर्न देशव्यापी हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गर्दै आएको र विद्यार्थी समुदायभित्र व्यापक समर्थन पाइरहेको उल्लेख गर्दै मेरिट प्रणालीका आधारमा उपकुलपति नियुक्त गरिनुपर्ने माग गरेको छ ।


“विशेषतः कुनै स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव वा व्यवस्थापकीय दक्षताको बेवास्ता गर्दै प्रा डा दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु अत्यन्त दुर्भाग्यपूर्ण छ । यस्तो नियुक्तिले त्रिभुवन विश्वविद्यालयलाई शैक्षिक संस्था होइन, राजनीतिक प्रयोगशालाको रूपमा परिणत गरिएको अनुभूति गराएको छ । नेपाल विद्यार्थी संघ सिफारिसको भरमा गरिने यस्ता राजनीतिक नियुक्तिहरूलाई पूर्णतः अस्वीकार गर्दछ । कुलपति समेत रहेका प्रधानमन्त्रीज्यूको विश्वविद्यालयप्रतिको दृष्टिकोण यथार्थमै शिक्षा र अनुसन्धानभन्दा राजनीतिमा केन्द्रित देखिएको छ, जुन गत मेरिट आधारित उपकुलपतिको राजीनामासँगै थप स्पष्ट भएको छ” विज्ञप्तिमा भनिएको छ ।


यसैगरी उपकुलपति नियुक्तिका लागि स्पष्ट कार्यविधि अवलम्बन गर्नुपर्ने, योग्य उम्मेदवारबाट भिजन पेपर माग गरिनुपर्ने र पारदर्शी प्रतिस्पर्धाका आधारमा मात्र नियुक्ति गरिनुपर्ने माग गरेको छ ।


यदि यस्ता आधार र प्रक्रिया बेवास्ता गर्दै विश्वविद्यालयको नेतृत्वमा पुनः राजनीतिक हस्तक्षेप गरिए नेविसंघ सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।