झापा पुग्यो महावीर पुनको किताब यात्रा

असार/२४ झापा -राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् सामाजिक अभियन्ता वैज्ञानिक महावीर पुन हाल उनको आत्मावृतान्त समेटिएको पुस्तक “सम्झना सपना र अविरल यात्रा“ लिएर पछिल्ला केही दिन झापामा छन् ।


झापाको गौरादह नगरपालिकाका विभिन्न चोकहरूमा पुस्तक बिक्री अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पुनले असार २३ गते सोमवारसम्म (पुस्तक बिक्री यात्राको ४ सय ५५ औ दिन सम्ममा ) २ लाख १० हजार भन्दा बढी पुस्तक बिक्री भैसकेको बताए ।


उनले उक्त पुस्तक बिक्रीबाट प्राप्त भएको रकम मध्ये पुस्तक प्रकाशन खर्च कटाएर ११ करोड रकम बिरगञ्जमा बन्द अवस्थामा रहेको कृषि औजार कारखानामा खर्च गरिसकेको र हाल उक्त कारखाना सञ्चालित रहेको जनाए । उक्त कारखाना सञ्चालन गर्न अझै रकम आवश्यक परेकोले उनले आफ्नो २ वर्ष अघि देखि सुरु गरेको अभियानलाई निरन्तरता दिएको पुनले बताए ।


देशव्यापी रूपमा आफ्नो जीवन भोगाइ र सङ्घर्षको कथा समेटि तयार पारेको पुस्तक बिक्रीकै क्रममा झापाको गौरादह पुगेका पुनले आफ्नो अभियान लाई साकार पार्न गौरादहका विभिन्न संघसंस्थाहरूले पूर्ण रूपमा सहयोग गरेर गौरादहलाई उदाहरणीय स्थानको रूपमा चिनाएको बताए ।


झापाको गौरादहमा असार २३ गते पहिलो दिनको पुस्तक बिक्री कार्यक्रम मार्फत करिब २ सय २५ पुस्तक बिक्री भएको पुनको पुस्तक बिक्री कार्यक्रमका गौरादह संयोजक एवम् लायन्स क्लब गौरादह युनाइटेडका अध्यक्ष ताराकुमार श्रेष्ठले जानकारी दिए ।


गौरादहमा पुनको पुस्तक बिक्री अभियानलाई स्थानीय संघ–संस्थाबाट अतुलनीय सहयोग मिलेको र सहयोग जुटाउने क्रममा गौरादहका सम्पूर्ण संस्थाहरूमा एकताको भावना रहेको कार्यक्रमले प्रस्ट्याएको छ ।


अभियानकै क्रममा केहीदिन अघि दमकको बसाइमा अपेक्षा गरेअनुसारको साथ नपाएको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो पोखेका पुनलाई गौरादहमा भने फरक र उत्साहजनक सहयोग जुटेको देखिएको छ ।


गौरादहमा सारथि युवा क्लब, लायन्स क्लब अफ गौरादह, लायन्स क्लब गौरादह युनाइटेड र क्लब हिमालयन टाइगर, गौरादह जेसीज लगायतका संघ–संस्थाहरूले संयुक्त रूपमा उनलाई हार्दिक स्वागत गर्दै अभियानमा पूर्ण सहयोग र समर्थन जुटाएकाछन् ।


आज सोमवार गौरादहका विभिन्न स्थानहरूमा पुस्तक बिक्री अभियानलाई तीव्रता दिँदै स्थानीय समुदायहरू पनि सक्रिय रूपमा सहभागिता जनाइरहेको देखिएको छ । संघसंस्थाहरू द्वारा आयोजित कार्यक्रममा पुस्तक बिक्रीसँगै सामाजिक चेतना र नवप्रवर्तनका सन्देशहरू प्रवर्धन भइरहेको छ ।


वैज्ञानिक पुनले गौरादहको सकारात्मक ऊर्जा र सहयोगी वातावरणको प्रशंसा गर्दै गौरादहले देखाएको आत्मीयता र साथले आफ्नो अभियानलाई नयाँ शक्ति मिलेको कार्यक्रमकै दौरानमा उद्घोष गरेका थिए ।


उनले आफ्नो अभियान केवल पुस्तक बिक्रीको अभियान मात्र नभएर विज्ञान, शिक्षा र सामाजिक नवप्रवर्तनको साझा यात्रा समेत रहेको बताए । यस यात्राले युवापिँढीलाई थप उर्जा र हौसला मिल्नेमा आफू विश्वस्त रहेको वैज्ञानिक पुनले आसासमेत लिएको जनाएका थिए ।
युवराज रेग्मी-झापा