भोलिसम्म निष्कर्षमा पुग्ने गरि महासङ्घ सँग चरणबद्ध वार्ता जारी छ : कांग्रेस नेता महर

काठमाडौँ /१६ बैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकहरूसँगको वार्ता माग सम्बोधनउन्मुख रहेको बताएका छन् ।


नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरू र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका प्रतिनिधिहरू सँग कुरा गर्दै ’सोमवार यताका पटक÷पटकका वार्तापछि सरकार, संयन्त्र, राजनीतिक दल र शिक्षक नेता सहमति नजिक पुगेका उनले बताए ।


’आन्दोलनरत शिक्षक भोलिसम्म कार्यस्थल फर्किने गरी नेपाल शिक्षक महासङ्घसँग गम्भीर रूपले वार्ता परिणाममुखी हुने गरी गृहकार्य भइरहेको छ,’ महरले भने ।


कांग्रेसबाट शिक्षकका माग सम्बोधनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका महरले आज बिहान शिक्षक नेताहरूसँगको भेटमा राजनीतिक दल माग सम्बोधनमा सकारात्मक रहेकाले आजभोलिमै परिणाम निस्कने बताए ।


तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज–भोलि नै मन्त्रीपरिषद्बाट सम्बोधन हुने र विद्यालय शिक्षा ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको महरले बताए ।


’कक्षा १२ को परीक्षा समयमै सुरु हुने गरी काम भइरहेको छ । नेपाल शिक्षक महासङ्घका प्राय एजेन्डा मन्त्रीपरिषद्बाट सम्बोधन हुने र शिक्षा ऐन यथाशक्य छिटो पारित गर्ने प्रतिबद्धतासहित माग सम्बोधन गर्ने गरी गृहकार्य अगाडि बढिरहेको छ,’ उनले थपे ।


शिक्षकको सम्मान हुने गरी शिक्षा भित्रका थुप्रै समस्या भोलिसम्म सम्बोधन हुने महरको दाबी छ । यसले शिक्षाभित्रको गतिरोध हटेर जाने विश्वाससमेत व्यक्त गरेका छन् । गुणस्तरीय शिक्षा प्राप्तिका लागि शिक्षक, विद्यार्थी, अभिभावक÷सरकार सबैले आआफ्नो कर्तव्य पालना गर्नु समेत महरको भनाई छ ।


यस्तै, सोमवार राति मन्त्रालयबाट निस्किँदै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए। यद्यपि शिक्षा ऐन जारी गर्न माग गर्दै २८ दिनदेखि शिक्षकले काठमाडौँ केन्द्रित सडक आन्दोलनलाई जारी नै राखेका छन् ।