काठमाडौं/१६ बैशाख – नेकपा एमालेका नेता ठाकुर प्रसाद गैरेले शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाएको बताएका छन् । आजको प्रतिपक्ष दलले शिक्षा मन्त्रालय धेरै पटक समालेको तथ्य रहेको उल्लेख गर्दै एक अर्कालाई आरोप लगाएर सडकमा शिक्षक र प्रहरी बिच झडप हुने परिस्थिति निर्माण गरेर घाइते हुने वातावरण निर्माण गरेको उनको आरोप छ ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षकहरूको पेसागत आन्दोलन तथा शिक्षा क्षेत्रको जस्तो संवेदनशील आन्दोलनलाई सत्ता हत्याउने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारोमा पार्ने अस्त्र बनाउने, सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न गर्ने यस्ता चिजहरू बन्द हुनुपर्ने बताए ।
उनले भने ‘यदि त्यसो भयो भने मात्रै आज प्रतिपक्षका मान्य ज्यूहरूले सामूहिक रूपले पेस गरेको त्यो सर्जनात्मक महत्वको प्रस्तावको छलफलको पनि औचित्य हुनेछ र त्यो सान्दर्भिक हुनेछ र त्यसले महत्वपूर्ण अर्थ राख्नेछ । होइन भने बहस एउटा गर्ने, छलफल एउटा गर्ने, मिटिङमा एउटा कुरा गर्ने सडकमा गएर अर्को कुरा गर्ने बानी जबसम्म रहन्छ तबसम्म नेपालको शिक्षा क्षेत्रको विकास हामीले खोजे जस्तो हुन सक्दैन ।’
साथै नेकपा एमाले संसदीय दलको तर्फबाट, आफ्नो तर्फबाट, प्रधानमन्त्री, शिक्षामन्त्री, भर्खरै निवर्तमान हुनुभएको शिक्षामन्त्री, शिक्षा समितिको सभापति, सभामुख, सबै प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सहित यो शिक्षा ऐन पास गर्नको लागि कोठा भित्र जुन सिरियसनेसका साथ काम भइरहेको छ, त्यसलाई फलदायी बनाउनको लागि सबैले बल प्रदान गर्न आग्रह गरे ।