काठमाडौं/१४ बैशाख – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले आन्दोलनरत शिक्षकहरूलाई पार्टीको सदस्यता त्यागिदिन आग्रह गरेकी छन् । शिक्षकहरू माथि गरेको दमनले उहाँहरूको नैतिकता र चरित्र उदाङ्गो पारिदिएको भन्दै सो आग्रह गरेकी हुन् ।
उनले भनेकी छन् ‘शिक्षक साथीहरू, जो नेताहरूलाई तपाईँहरूले बुइँ चढाई–चढाई सबैतिर पु¥याउनु भयो, आज उहाँहरूले तपाईँहरू माथि गरेको दमनले उहाँहरूको नैतिकता र चरित्र उदाङ्गो पारिदिएको होला । सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, कसरी तपाईँहरूलाई हेरिन्छ अब त बुझ्नुस् ।’
यसैगरी पहिले देशको व्यवस्था परिवर्तन गर्न शिक्षकहरूले विभिन्न काल खण्डमा योगदान दिएको उल्लेख गर्दै शिक्षकहरूले व्यवस्था परिवर्तन गरे पनि देशको बागडोर सम्हाल्नेहरूको संस्कार परिवर्तन नभएको बताएकी छन् । यो संस्कार परिवर्तन गर्न शिक्षकहरू पनि सामेल हुन उनको आग्रह छ ।
यत्रो दिन आन्दोलनरत रहँदा समेत शिक्षकसँग न राम्ररी वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा नेगोसिएभल गर्न सक्ने बताउँदै शिक्षकहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब मनन गरेर तानासाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्न भन्दै पार्टीको सदस्यता त्यागिदिन सुझाब दिएकी छन् ।
अब तपाईँहरूले छान्ने बेला आयो । अझै “आफ्नो“ मान्छे चाहिने, “भेटी“ चढाउनु पर्ने प्रणालीको निरन्तरता कि वृत्ति विकासको पथ अनुमान गर्न सकिने पारदर्शी विधिसम्मत प्रणाली ? अझै पनि कुनै राजनीतिज्ञ वा पार्टीको छाता छायाँमा बसिरहनु हुन्छ कि सबैलाई एकरूपले लागु हुने कार्यसम्पादनमा आधारित विधि ? उनले भनेकी छन् ।



