काठमाडौँ /१२ बैशाख – शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरे वार्तामा नेपाल शिक्षक महासङ्घ नजाने भएको छ । मन्त्रालय आफैले वर्ता टोली बनाएर पठाएको र यसमा महासङ्घसँग कुनै पनि छलफल नगरी सार्वजनिक गरिएको भन्दै आज वार्तामा नजाने भएको हो ।
शिक्षामन्त्री रघुजी पन्तले आज महासङ्घलाई वार्तामा आउनका लागि आह्वान गरेका थिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको जानकारी गराउँदैं आज नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने तयारीमा रहेपनि विशेष कारणबश मन्त्रालय प्रवेश नगरी फर्किएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
यसैगरी आज नेपाल शिक्षक महासङ्घ वार्तामा जाने भन्ने कुनै निर्णय नभएको नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले बताए । वार्ता टोली नै गठन नगरिएको र चार जना गएर मन्त्रीलाई भेटी शिक्षकका माग बारे जानकारी दिने भनिएपनि चार जना पनि नगएको शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावलले जानकारी दिए ।
‘वर्ता टोली हामीले गठन गर्ने होलानी ? मन्त्रालयले आफै नाम तोकेर पठाउन मिल्छ र ? त्यसका लागि हामीले पनि तयारी गर्नुपर्ला । आज बार्तामा जाने कुरै थिएन । चार जना साथीहरू गएर मन्त्रीलाई मागका बारेमा जानकारी गराउने कुरा मात्रै थियो । त्यसै कारणले उहाँहरू पनि जानु भएन’ रावलले भने ।
मन्त्री पन्तले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि आग्रह गरेको छन् । गत चैत २० देखि विभिन्न मागसहित शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षक सडक आन्दोलनमा छन् ।



