काठमाडौँ/८ बैशाख एसिया प्यासिफिकका शिक्षकलाई तालिम प्रदान गरी पेसागत दक्षता बढाउने र विद्यालयको उद्देश्य तथा रणनीति मुताबिक शैक्षिक अभ्यासलाई रूपान्तरण गर्न काठमाडौँ विश्वविद्यालयसँगको सहकार्य गरिएको कार्यशाला सम्पन्न भएको छ । संस्थागत प्रतिबद्धतालाई अङ्गीकार गर्दै ३ वर्ष अघि सम्झौता पत्रबाट सुरु गरिएको तीन क्रेडिट बराबरको क्रेडिट सञ्चय ढाँचा अन्तर्गत रहेको तालिम कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयको अभिभावक अभिमुखीकरण २०८२ को कार्यक्रमको अवसरमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गत रहेको निरन्तर व्यावसायिक शिक्षा केन्द्र (सिपिइसि) का तर्फबाट प्रा. डा. हेमराज काफ्ले प्रमुख अतिथिका रूपमा रही कार्यशालामा सहभागी शिक्षकहरूलाई प्रमाण पत्र वितरण गरिएको छ ।
विद्यालयका प्राचार्य रमेश घिमिरेले शिक्षक पेसागत तालिम कार्यक्रमले एक शक्तिबाट अनेक बन्न पुगेकोमा आफूहरू गौरवान्वित बनेको कुरा व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सिकाइ निरन्तर चलिरहने साथै निरन्तरताले नै निखार्दै जाने कुरा औँल्याए ।
साथै शिक्षक पेसागत विकास गरिरहेका र हातमा प्रमाणपत्र बोकेका मध्य केही प्रशिक्षार्थी शिक्षकले आफ्नो भविष्य सुनौलो र सुनिश्चित बनाउन कक्षामा उपस्थित विभिन्न भौगोलिक, आर्थिक तथा सांस्कृतिक विविधता भएका र विद्यालयमा विभिन्न सिकाइ तथा बहु बुद्धि मता बोकेका र फरक सिकाई क्षमताको सामना गरिरहेका बालबालिकालाई शिक्षाको मूल धारमा समावेश गर्ने बेला आएको र यसका लागि हातमा हतियार आएको धारणा व्यक्त गरेका थिए ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले एसिया प्यासिफिक विद्यालय टोखामा अध्यापनरत ३८ जना शिक्षकहरूलाई पेसागत तालिम सम्पन्न प्रमाणपत्र हस्तान्तरण गरेको थियो । प्रा.डा. हेमराज काफ्लेले शिक्षण विधिमा नवीनतम प्रविधिहरूको उपयोग र गुणस्तरीय शिक्षाको आवश्यकताबारे प्रकाश पार्दै कार्यक्रमको सफलताप्रति बधाई दिए ।