विद्यालय शिक्षा ऐन अब पास नहुने कुरा छैन : शंकर पोखरेल

काठमाडौं/६ बैशाख – नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय शिक्षा ऐन अब पास हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । आन्दोलनरत शिक्षकहरूले यथार्थ बुझ्नुपर्ने र जो काम गर्न खोज्दैछ, उसलाई निरुत्साहित गर्नु बुद्धिमानी नहुने भन्दै सो आग्रह गरेका हुन् ।


विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग रहेपनि अहिले उल्टै वर्तमान सरकारलाई दोष दिँदै “पानी माथिको ओभानो” बन्ने प्रयास लाजमर्दो रहेको बताए ।


उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ‘विद्यालय शिक्षा ऐन अब पास नहुने कुरा छैन – ढुक्क होऔँ । विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग थियो। तर अहिले उल्टै वर्तमान सरकारलाई दोष दिँदै “पानी माथिको ओभानो” बन्ने प्रयास लाजमर्दो छ । वर्तमान सरकार बनेको एक वर्ष पनि नपुगेको अवस्थामा विधेयकमा आएका संशोधनहरूको गम्भीर समीक्षा गर्दै दुई दलीय संयन्त्रमार्फत काम अघि बढाइसकेको छ । अहिलेको सरकारले विगतमा नभएका पहलहरू गरिरहेको छ, जसको समर्थन गर्नु जरुरी छ ।’


उनले माओवादी केन्द्रले आलोचना नभई निःसर्त सहयोग गर्नुपर्ने बताउँदै आफूले नगरेको काम अहिलेको सरकारले गर्न खोजेकोमा धन्यवाद दिनुपर्ने बताए । अब सबै पक्ष जिम्मेवार बन्न आग्रह गर्दै सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनहरू पारित गर्न सहकार्य गरेर शिक्षा हाम्रो साझा भविष्य हो—यसलाई दलीय राजनीतिक स्वार्थको विषय बनाउन नहुने उनको तर्क छ ।


‘आन्दोलनरत शिक्षकहरूले पनि यथार्थ बुझ्नुपर्छ—जो काम गर्न खोज्दैछ, उसलाई निरुत्साहित गर्नु बुद्धिमानी होइन । विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित होइन । शिक्षा ऐन ल्याउन सरकार प्रतिबद्ध छ, र यही १२ गतेबाट सुरु हुने संसद्को अधिवेशनमा यो प्राथमिकतामा छ’ उनले भनेका छन् ।