काठमाडौं/२८ चैत – आन्दोलनरत शिक्षक र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबिच आज गरिएको प्रारम्भिक छलफल ध्यानाकर्षण बुझाएर सकिएको छ । चैत २० गतेदेखि सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र शिक्षामन्त्रीबिच आज छलफल भएको हो ।
छलफलका बारेमा महासङ्घका प्रतिनिधि केही बोल्न नचाहेपनि ध्यानाकर्षणका साथ पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएको महासङ्घले जनाएको छ । साथै महासङ्घले नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो ? त्यसबारे प्रस्टता मागिएको छ ।
विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुन सक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब हुनुको ठोस जवाफ महासङ्घले मागेको छ ।
स्रोतका अनुसार छलफल सकारात्मक भएको र मन्त्रालयबाट सम्बोधन गर्नु पर्ने विषयमा मन्त्री स्तरको निर्णय गरेर सम्बोधन गरिने, इसिडि तथा विद्यालय कर्मचारीको पारिश्रमिकका सवालमा समस्या समाधान गर्न मन्त्रालय तयार रहेको र विद्यालय शिक्षा ऐन ल्याउने सन्दर्भमा राजनीतिक दलका प्रमुख सचेतक राखेर छलफलबाट टुंग्याउन आग्रह गरिएको लगायतका विषय राखिएको जनाएको छ । यसैगरी मर्यादाक्रमको सवालमा गृह मन्त्रालय मार्फत छलफल गरेर टुङ्ग्याउन मन्त्रालय तयार भएको सवाल पनि उठाइएको जनाएको छ ।
साथै छलफलमा उपस्थित प्रतिनिधिका अनुसार मन्त्रालयले कुनै पनि ठोस विषय नल्याएको र मन्त्रालयले भनेका विषयमा यस भन्दा अगाडी पनि धेरै पटक छलफल गरिएको हुँदा त्यसले कुनै नतिजा नदिने देखिएको बताए । उनले शिक्षकहरूले उठाएका माग अन्य मन्त्रालयसँग पनि जोडिएको र अन्य मन्त्रालयमा यसअघि शिक्षा मन्त्रालयले फाइल पठाउँदा रोकिएकोले मन्त्री स्तरबाट पार लाग्ने विषय नभएकोले आफूहरू निराश भएर फर्किएको खबर एजुकेशनलाई जानकारी दिए ।



