आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न कांग्रेस शिक्षा विभागको आग्रह

काठमाडौं/२५ चैत – नेपाली कांग्रेस नेपाल शिक्षक महासङ्घसँग भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूसँग सरकार प्रमुखकै तहबाट वार्ता गर्न ध्यानाकर्षण गराएको छ ।


कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले विज्ञप्ति जारी गर्दै शिक्षकहरूका माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।


‘शैक्षिक सुधारका सम्बन्धमा सरकारसँग भएका सम्झौता र सहमति कार्यान्वयनका लागि शीघ्र विद्यालय शिक्षा ऐन पारित गर्न माग राख्दै देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू यतिबेला राजधानी केन्द्रीत आन्दोलनमा छन् । आन्दोलनको क्रममा नेपाल शिक्षक महासङ्घले घोषणा गरेको शैक्षिक आमहड्तालका कारण विद्यालयहरूमा पठनपाठन समेत प्रभावित भएको छ । उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।