काठमाडौँ /१६ चैत – अभिभावक, विद्यालय र विद्यार्थीबिचको सम्बन्ध राम्रो भए मात्रै विद्यार्थीको सिकाई उत्कृष्ट हुने अभिभावकहरूले धारणा व्यक्त गरेको छन् । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१० बालुवाखानी कपनमा रहेको फेरिल्याण्ड इन्टरनेशनल स्कुलले आयोजना गरेको अभिभावकसँगको छलफल कार्यक्रममा अभिभावकले उक्त धारणा व्यक्त गरेका हुन् ।
अधिकांश अभिभावकले विद्यालयमा बालबालिका पठाएपछि पढाउने सम्पूर्ण जिम्मेवारी विद्यालयको हुने धारणा राख्ने गरेकोमा त्यसो गर्नु ठक नभएको र बालबालिकालाई पढ्ने वातावरण निर्माण गर्नुमा अभिभावकको पनि उत्तिकै दायित्व रहेको छलफल कार्यक्रममा अभिभावकहरूले विचार व्यक्त गरे । उनिहरूले आगामी दिनमा बालबालिकालाई आफूहरूले समय दिने, विद्यालयसँग सम्पर्कमा रहेर सहजिकरण गर्ने, बालबालिकालाई गाली भन्दा हौसला प्रदान गर्ने विद्यालयसँग प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले विद्यालयले संस्कारसहितको उत्कृष्ट शिक्षा दिएकोमा खुसी व्यक्त गर्दै आफ्नो पालिकामा राम्रा विद्यालयहरू रहेको र अभिभावकलाई पालिका भित्रैका विद्यालयमा ढुक्क भएर छोराछोरी पढाउन आग्रह गरे ।
वडा-१० का वडाध्यक्ष नवराज भट्टराईले पालिकाको पहिचान भनेकै उत्कृष्ट शिक्षा भएको बताउँदै बुढानीलकण्ठ नगरपालिकालाई शैक्षिक हबका रूपमा अगाडी बढाउन लागि परेको बताए । उनले फेरिल्याण्ड इन्टरनेशनल स्कुलको प्रशंसा गर्दै विद्यालय र अभिभावकबिचको सम्बन्ध राम्रो भए विद्यार्थीको पढाई पनि राम्रो हुने विचार व्यक्त गरे ।
कार्यक्रममा अभिभावकहरूलाई प्रीतम पौडेलले बालबालिकालाई अभिभावकले कस्तो व्यवहार गर्ने, घरमा कस्तो वातावरण सिर्जना गर्ने, उनिहरूलाई कसरी हौसला प्रदान गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
विद्यालयका फाउन्डर प्रिन्सिपल विष्णुचन्द्र अधिकारी, संस्थापक निर्देशक विनोद अधिकारी, रामप्रसाद गौतमले आफ्नो मन्तव्य राखेका थिए भने करिब ५ सय बढी अभिभावक, शिक्षासेवी, समाजसेवी, विद्यालय सञ्चालकहरू लगायतको सहभागीता रहेको थियो ।