काठमाडौं/१३ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले रिले अनसनमा बसेका शिक्षकहरूसँग भेट गरेकी छन् । विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै आन्दोलनमा रहेका शिक्षकहरूसँग भेट गरेकी हुन् ।
भेटघाटमा मन्त्री भट्टराईले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफलमा भएको र चाँडो यसलाई टुङ्ग्याउन आफू सक्रियताका साथ लागेको कुरा बताएकी छन् ।
नेपाल शिक्षक महासङ्घकोे नेतृत्वमा दोस्रो चरणको आन्दोलन अन्तर्गत चैत ७ गतेदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शिक्षकहरू रिले अनशन बसेका छन् । अनसन १५ गतेसम्म रहने छ ।
यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उद्देश्यले महासङ्घले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेटेर यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन ल्याउनु पर्ने महासङ्घको माग रहेको छ । आफ्ना माग समेटेर विद्यालय शिक्षा ऐन नल्याए चैत २० गतेबाट काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने महासङ्घले घोषणा गरेको छ ।



