कक्षा ४-१२ सम्म सामाजिक अध्ययन विषयको नाममा एकरूपता कायम

काठमाडौं/९ चैत – राष्ट्रिय पाठ्यक्रमले कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको नाममा एकरूपता कायम गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा राष्ट्रिय पाठ्यक्रम परिषद्की अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा शुक्रवार बसेको बैठकले सो निर्णय गरेको हो ।


कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको नाममा एकरूपता कायम गरिएको र अब कक्षा ४–५, कक्षा ६–८ र कक्षा ११–१२ मा पनि कक्षा ९–१० कै जस्तै ‘सामाजिक अध्ययन’ नाम रहनेछ ।


साथै विभिन्न तहका पाठ्यक्रम स्वीकृत/परिमार्जन तथा नयाँ विषय समावेश गर्ने निर्णय बैठकले गरेको मन्त्रालयले जनाएको छ ।


बैठकको प्रमुख निर्णयमा माध्यमिक तह (कक्षा ९–१०) को ऐच्छिक भूगोल विषयको पाठ्यक्रमलाई प्राप्त सुझावहरू समेटेर स्वीकृतिका लागि सिफारिस गरिएको छ । यसैगरी, मन्त्रालयले मातृभाषा तर्फ माध्यमिक तहको लिम्बू भाषा (कक्षा ९–१०), आधारभूत तहको बान्तवा राई भाषा (कक्षा ६–८), डोटेली भाषा (कक्षा १–३) र वायुङ राई भाषा (कक्षा १–३) को पाठ्यक्रम पनि स्वीकृत गर्न सिफारिस गरेको छ । यी निर्णयहरूले विद्यालय तहमा विभिन्न मातृभाषाहरूको अध्ययन अध्यापनलाई थप बल पुग्ने विश्वास लिइएको जनाइएको छ ।


बैठकले गोन्पा शिक्षाको अनिवार्य र ऐच्छिक विषयको समूह मिलान गरी नयाँ संरचनालाई स्वीकृति दिएको छ । प्रस्तावित संरचना अनुसार नेपाली, अङ्ग्रेजी, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित अनिवार्य विषय रहनेछन् ।


ऐच्छिक विषयहरूमा रहेका विषयमध्ये ३ ओटा समूहबाट कुनै २ ओटा विषय र विद्यार्थीहरूले थप अध्ययन गर्न चाहेमा चौथो समूहबाट एउटा विषय छनोट गर्न सक्नेछन् । यस नयाँ संरचनाले गोन्पा तथा विहारहरूमा अध्ययनरत विद्यार्थीहरूलाई थप व्यवस्थित र समयानुकूल शिक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ ।


संस्कृत तथा गुरुकुल शिक्षालाई पनि समयानुकूल बनाउने प्रयासस्वरूप तन्त्रशास्त्र विषयलाई पाठ्यक्रममा थप गर्ने निर्णय भएको छ। तन्त्रशास्त्रलाई कक्षा ९ र १० को ऐच्छिक द्वितीय समूह र कक्षा ११ र १२ को ऐच्छिक पहिलो समूहमा समावेश गरिने भएको छ ।