एसईई परीक्षा केन्द्रभित्र विद्यार्थीको मोबाइल भेटिए फिर्ता नहुने

बारा/४ चैत – शिक्षा विकास तथा समन्वय इकाइ बाराले एसईई परीक्षा केन्द्रभित्र भेटिएको विद्यार्थीको मोबाइल फिर्ता नहुने जनाएको छ । प्रवेशपत्र बाहेक मोबाइल, किताब, गाइड लगायत चिट चोरीका लागि विद्यार्थीले प्रयोग गर्ने सबै प्रकारका सामाग्रीहरू पूर्ण रूपमा निषेध गरिएको उल्लेख गर्दै उक्त कुराको जानकारी गराएको हो ।


इकाइले सूचना जारी गर्दै यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० लाई स्वच्छ, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्नको लागि जिल्ला परीक्षा समन्वय समितिको निर्णय अनुसार केन्द्रमा निषेध गरिएको मोबाइल भेटिए फिर्ता नगर्ने जानकारी दिएको छ ।


यसैगरी जिल्ला परीक्षा समन्वय समितिको अध्यक्ष र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले जारी गरेको परिचय पत्र भए मात्र परीक्षा केन्द्रभित्र प्रवेश गर्न दिने परिचय पत्र नभएको खण्डमा जो सुकै भएपनि परीक्षा केन्द्रभित्र प्रवेश गर्न नदिने इकाइ प्रमुख हेमराज खतिवडाले जनाएका छन् ।


‘प्रस्तुत विषयमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० लाई स्वच्छ, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्नको लागि जिल्ला परीक्षा समन्वय समिति, बाराको मिति २०८१÷१२÷०३ को निर्णयानुसार परीक्षा केन्द्रमा विद्यार्थीको प्रवेशपत्र बाहेक मोबाइल, किताब, गाइड लगायत चिट चोरीका लागि विद्यार्थीले प्रयोग गर्ने सबै प्रकारका सामाग्रीहरू पूर्ण रूपमा निषेध गरिएको ब्यहोरा अनुरोध गरिन्छ । साथै केन्द्रभित्र भेटिएको मोबाइल फिर्ता नहुने ब्यहोरा समेत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।