काठमाडौं/२६ फागुन – शिक्षकहरूसँग गरिएको सहमति सम्बोधन हुनेगरी यही हिउँदे अधिवेशनमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।
विद्यालय शिक्षा विधेयक अहिले संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत छलफलमा रहेको तर उक्त विधेयक जुन गति र प्राथमिकताका साथ अघि बढाइनु पर्ने हो, त्यो ढङ्गमा काम नभइरहेको जानकारी दिँदै राज्यपक्ष विद्यालय शिक्षा ऐन जारी नगर्ने मनसायमा रहेको देखिएको महासंघको आरोप छ ।
२०८१ फागुन २४ गते पहिलो चरणको आन्दोलन मार्फत सरकारलाई दबाब दिएपनि शिक्षक र कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर षड्यन्त्र हुन थालेकोले दोस्रो चरणको आन्दोलन घोषणा गरिएको महासंघको भनाई छ ।
महासङ्घले स्थायी, राहत, साविक उमावि, अस्थायी/करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरु अब जारी हुने ऐनबाट सम्बोधन हुनु पर्ने माग रहेको छ ।
हेर्नुहोस दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू
नेपाल शिक्षक महासङ्घ नेपाली शिक्षक कर्मचारीको आधिकारिक पेसागत छाता संस्था हो । यो संस्थाले गुणस्तरीय विद्यालय शिक्षाको विकास र नेपाली शिक्षक–कर्मचारीको पक्षमा निरन्तर आन्दोलन गर्दै आएको कुरा विदितै छ । यसक्रममा विगतमा धेरै पटक आन्दोलन भई नेपाल सरकारसँग थुप्रै सहमतिहरू भएका छन् ।
विगतमा भएका ती सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन आउन आवश्यक छ । विद्यालय शिक्षा विधेयक अहिले संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गत छलफलमा रहेको छ तर उक्त विधेयक जुन गति र प्राथमिकताका साथ अघि बढाइनु पर्ने हो, त्यो ढङ्गमा कसैबाट काम भइरहेका छैन । यसले राज्यपक्ष विद्यालय शिक्षा ऐन जारी नगर्ने मनसायमा रहेको देखिन्छ ।
स्थायी, राहत, साविक उमावि, अस्थायी/करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने ऐनबाट सम्बोधन हुनै पर्दछ तर समय बित्दै जाँदा विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर षड्यन्त्र हुन थालेको देखिन्छ ।
यही परिस्थितिलाई मध्यनजर गरी नेपाल शिक्षक महासङ्घले फेरि आन्दोलन थालनी गरेको छ । वि. सं. २०८१ फागुन २४ गते पहिलो चरणको आन्दोलन पूरा भएको छ भने आज हामीले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छौँ । यस आन्दोलन मार्फत हामी सरकार, संसद र सम्बन्धित सबै सरोकार पक्षलाई विगतका सहमतिहरू समेटिएको अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न बाध्य तुल्याउने कुरा समेत उद्घोष गर्दछौँ ।
दोस्रो चरणको आन्दोलनमा निम्न बमोजिम कार्यक्रमहरू अघि सारिएको छ ।
आन्दोलनका कार्यक्रमहरू (दोस्रो चरण) :
१. राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना वि.सं. २०८१ फागुन २७ गते देखि २०८१ चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने ।
क). फागुन २७ गते– नेपाली काँग्रेसको कार्यालयमा ।
ख). फागुन २८ गते– नेकपा एमालेको कार्यालयमा ।
ग) चैत्र १गते– नेकपा माओवादी केन्द्रको कार्यालयमा ।
घ) चैत्र २ गते– नेकपा एकीकृत समाजवादीको कार्यालयमा ।
ङ) चैत्र ३गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा ।
च) चैत्र ४ गते– जसपा, लोसपा र राजमोको कार्यालयमा ।
छ) चैत्र ५गते– जनमत, नागरिक उन्मुक्ति र राप्रपाको कार्यालयमा ।
२. साँसदहरुसँग भेट तथा पक्षीकरणः हरेक जिल्ला आन्दोलन परिचालन समितिले आफ्नो
जिल्लाबाट प्रतिनिधित्व गर्ने माननीय सङ्घीय साँसदहरूसँग भेटगरी विद्यालय शिक्षा ऐन जारी गर्ने पक्षमा सक्रिय हुन दबाब दिने । (२०८१ फागुन २७ गते देखि २०८१ चैत्र ५ गतेसम्म) ।
३. काठमाडौँमा रिले अनसन : २०८१ चैत्र ७ गते देखि २०८१ चैत्र १५ गतेसम्म ।
४. काठमाडौँ केन्द्रित सडक आन्दोलन (अनिश्चितकालीन) :– वि.सं.२०८१ चैत्र २० गतेबाट देशभरका सबै शिक्षक कर्मचारी काठमाडौँ आई सडक आन्दोलनमा सहभागी हुनुहुनेछ । यो आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म कायम रहनेछ । यस अवधिमा सबै सरकारी कामकाजको बहिष्कार गरिनेछ ।



