केयुमा क्रेडिट ट्रान्सफरका लागि आशयपत्र माग, नियमित विद्यार्थी सरह सुविधा पाउने

काठमाडौँ /२२ फागुन – काठमाडौँ विश्वविद्यालयले क्रेडिट स्थानान्तरणका लागि अभिरुचिको आशयपत्र पेस गर्न आह्वान गरेको छ । विश्वभरका विद्यार्थीलाई आफ्नो शैक्षिक क्रेडिट स्थानान्तरण (क्रेडिट ट्रान्सफर) गरी केयूबाट शैक्षिक कार्यक्रम पुरा गर्ने अवसर प्रदान गर्ने निर्णयसँगै अभिरुचिको आशयपत्र पेश गर्न आह्वान गरेको हो ।


केयूले गत शुक्रवार “ओपन हाउस”कार्यक्रम आयोजना गरी सम्बन्धित विद्यार्थीका विविध सरोकारहरू केलाउने प्रयास समेत गरेको जनाएको छ । त्यसै अनुरूप विद्यमान “क्रेडिट अकुमुलेशन फ्रेमवर्क” अन्तर्गत विश्वभरका विद्यार्थीलाई आफ्नो शैक्षिक क्रेडिट स्थानान्तरण (क्रेडिट ट्रान्सफर) गरी केयूबाट शैक्षिक कार्यक्रम पुरा गर्ने अवसर प्रदान गर्ने निर्णय गरेको छ ।


विभिन्न कारणबाट विशेषगरी विदेशी विश्वविद्यालयहरूमा आफ्नो अध्ययन पूरा गर्न नसकेका विद्यार्थीहरूको समस्याबारे हालैका संवादहरूलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै विद्यार्थीहरूको सहजताका लागि क्रेडिट ट्रान्सफरको व्यवस्था गरेको काठमाडौँ विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन ।


अभिरुचिको आशयपत्र httpsM//ku.edu.np/credit–transfer लिङ्कबाट पेस गर्ने सकिने छ । त्यसैगरी काठमाडौँ विश्वविद्यालयलाई क्रेडिट स्थानान्तरण गर्न इच्छुक विद्यार्थीले बारम्बार सोध्ने प्रश्नहरूको समेत जवाफ दिएको छ ।


१. केयूको क्रेडिट स्थानान्तरण सुविधा कसले प्राप्त गर्न सक्छन् ?
कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयका विद्यार्थीले केयूका नियमहरू पूरा गरेर क्रेडिट स्थानान्तरणको सुविधा प्राप्त गर्न सक्छन् ।


२. क्रेडिट स्थानान्तरण पश्चात् डिग्री कुन विश्वविद्यालयले दिन्छ ?
डिग्री केयूले दिन्छ । विद्यार्थी अध्ययनरत विश्वविद्यालयसँग सहकार्य छ भने केयूले संयुक्त/दोहोरो डिग्री पनि दिन सक्छ ।


३. विद्यार्थीले पूरा कार्यक्रमको शुल्क भुक्तानी गर्नु पर्छ ?
पर्दैन, केयूमा लिने क्रेडिटको शुल्क मात्र भुक्तानी गर्दा हुन्छ ।


४. विद्यार्थीको योग्यता कसरी मूल्याङ्कन गरिन्छ ?
विद्यार्थीको शैक्षिक रेकर्ड तथा दुई विश्वविद्यालयका कार्यक्रमबिचको सामान्जस्यताका आधारमा योग्यता मूल्याङ्कन गरिन्छ ।


५. विद्यार्थीको अध्ययन वर्ष र सेमेस्टरको समायोजन कसरी हुन्छ ?
विद्यार्थीको अध्ययन वर्ष कायम रहन्छ, तर कुनै विशेष अवस्थामा सेमेस्टर फरक पर्न सक्छ ।


६. विद्यार्थी अध्ययनरत विश्वविद्यालयसँग केयूको साझेदारी हुनु अनिवार्य छ ?
अनिवार्य छैन ।


७. क्रेडिट स्थानान्तरणले अध्ययनपश्चात् रोजगारी वा थप अध्ययनमा असर गर्छ ?
क्रेडिट स्थानान्तरण गर्ने स्नातकहरूले रोजगारी वा थप अध्ययनमा कुनै असुविधा भोग्नु पर्दैन ।


८. क्रेडिट स्थानान्तरण गर्ने विद्यार्थीलाई छात्रवृत्तिको अवसर उपलब्ध छ ?
क्रेडिट स्थानान्तरण गर्ने विद्यार्थीले नियमित विद्यार्थीसरह छात्रवृत्ति तथा अन्य अवसर पाउँछन् ।


९. क्रेडिट स्थानान्तरणका लागि प्रवेश परीक्षा आवश्यक छ ?
मान्यता प्राप्त विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक रेकर्ड तथा अन्य कागजातको मूल्याङ्कन पश्चात् केयूले ‘क्रेडिट अकुमुलेशन फ्रेमवर्क’ अन्तर्गत क्रेडिट स्थानान्तरणका लागि अनुमति दिन सक्छ । हालका लागि प्रवेश परीक्षा अनिवार्य गरिएको छैन ।


१०. क्रेडिट स्थानान्तरणका लागि के कागजातहरू आवश्यक छन् ?
मार्कशिट वा ग्रेडशिट, अघिल्ला शैक्षिक स्तरका प्रमाणपत्र, राहदानी वा नागरिकताको प्रतिलिपि र अध्ययनरत विश्वविद्यालयले जारी गरेको विद्यार्थी परिचयपत्र । आवश्यक लागेमा विश्वविद्यालयले थप कागजात माग गर्न सक्छ ।


११. विद्यार्थी अनुत्तीर्ण भएका विषयको मान्यता के हुन्छ ?
विद्यार्थीले उत्तीर्ण गरेका विषयलाई मात्र मान्यता दिइन्छ र त्यसै अनुरूप क्रेडिट स्थानान्तरण गरिन्छ ।


१२. विद्यार्थीले अध्ययनरत विश्वविद्यालयमा पाठ्यक्रम पूरा गरिसकेका छन् भने केयूले अन्तिम परीक्षा लिइदिन सक्छ ?
विद्यार्थी अध्ययनरत विश्वविद्यालयले औपचारिक अनुरोध गरेमा केयूले अन्तिम परीक्षा सञ्चालन गरिदिन सक्छ ।

यसैगरी अन्य विषयमा विद्यार्थीले थप जानकारीका लिनका लागि काठमाडौँ विश्वविद्यालय, डाइरक्टरेट अफ एडमिसन्सको इमेलः [email protected] मा र काठमाडौँ विश्वविद्यालय, ग्लोबल इन्गेजमेन्ट डिभिजनको इमेल [email protected] मार्फत लिन सक्ने छन् ।