भक्तपुर/१७ फागुन – प्यब्सनका अध्यक्ष डिके ढुङ्गानाले निजी विद्यालयहरू सामाजिक उद्योग भएको बताएका छन् । शुक्रवार सिद्धार्थ विद्यापीठ सेकेन्डरी स्कुलको २५ औँ अभिभावक तथा रजत जयन्ती समारोहमा बोल्दै विद्यालय समाजलाई चाहिने जनशक्ति उत्पादन गर्ने क्षेत्र भएको सामाजिक उद्योग भएको बताएका हुन् ।
उनले निजी विद्यालय लगानी गरेर सञ्चालन गरिएकोले अभिभावकलाई महँगो लागे पनि विद्यालयहरूले उत्कृष्ट शिक्षा दिइरहेको र सेवा अनुसारको शुल्क मात्रै लिएको बताए । उनले भने ‘निजी विद्यालय सामाजिक उद्योग पनि हो । समाजलाई चाहिने जनशक्ति उत्पादन गर्ने क्षेत्र विद्यालय हो । लगानी गरेर सञ्चालन गरिएकोले अभिभावकलाई महँगो लागेपनि विद्यालयले सेवा अनुसारको शुल्क लिएकै कारण उत्कृष्ट शिक्षा दिन सकेका छन् ।’
निजी विद्यालयसँग सामुदायिक विद्यालयले प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै निजी विद्यालयले उत्कृष्ट शिक्षा दिएकै कारण सामुदायिक विद्यालयलाई सुधार गर्नुपर्ने बाध्यकारी परिस्थिति सिर्जना भएको उनको भनाई थियो ।
ढुङ्गानाले अबको शिक्षा ज्ञान, सिप र संस्कारसँग जोडेर अगाडी बढ्नुपर्ने आवश्यक रहेको बताए । यसैगरी नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने कुरामा जोड् दिँदै नहुनेलाई सरकारले खर्चदिनुपर्ने र हुनेसँग पैसालिने व्यवस्था गर्न सके नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने विचार व्यक्त गरे ।
सिद्धार्थ विद्यापीठ स्कुलको २५ औँ रजत जयन्तीको सन्दर्भमा बोल्दै विद्यालयले प्रविधि मैत्री, संस्कार युक्त शिक्षा दिन सफल भएकै कारणले २५ वसन्त पार गर्न सफल भएको प्रशंसा गरे । शिक्षकको मेहनेत, विद्यालयको तपस्या र कठिन परिस्थितिमा पनि ज्ञान दिन सकेका कारणले नै विद्यालय सफल भएको बताए ।
विद्यालयकी संस्थापक प्रिन्सिपल दीपिका थापा रिमालले अभिभावक, शिक्षक र विद्यार्थीहरूको साथ सहयोगका कारण विद्यालयले २५ औं वसन्त पार गर्न सफल भएको बताउँदै धन्यवाद व्यक्त गरिन । उनले प्रविधिसँगै संस्कारसहितको शिक्षामा विद्यालय केन्द्रीत रहेको बताइन । आगामी दिनमा उत्कृष्ट शिक्षा दिनका लागि प्रविधिसँगै ज्ञान, सिप र संस्कारसहितको शिक्षामा जोड् दिने बताइन ।
उक्त रजत जयन्तीको अवसरमा शिक्षा पत्रकार, शिक्षाकर्मी, समाजसेवी, विद्यालयका शिक्षक, विभिन्न विधामा उत्कृष्टता प्राप्त गर्ने विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो । अभिभावकको उत्साहपूर्ण सहभागी रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।



