काठमाडौँ/७ फागुन – चालु आर्थिक वर्षको पुस मसान्तसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुँजीगत खर्च राष्ट्रिय औसत भन्दा कम १०.९ प्रतिशत भएको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१ ०८२ को वार्षिक कार्ययोजना कार्यान्वयनको २०८१ पुससम्मको क्रियाकलाप तथा माइलस्टोनको प्रगति प्रतिवेदनमा शिक्षा मन्त्रालयको पुँजीगत खर्च १०.९ प्रतिशत भएको देखिएको हो ।
एकीकृत अनलाइन अनुगमन प्रणालीमा प्रविष्ट गरिएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको लागि तर्जुमा गरिएको मन्त्रालय, निकायहरूको कार्ययोजना कार्यान्वयनको प्रगति अवस्थालाई विश्लेषण गर्न मन्त्रालय तथा निकायहरूलाई कार्य प्रकृतिका आधारमा ४ वटा क्षेत्रमा विभाजन गरि विश्लेषण गरिएको छ ।
विश्लेषणका लागि आर्थिक क्षेत्र, पूर्वाधार क्षेत्र, शासकीय सुधार क्षेत्र र सामाजिक क्षेत्र गरी विभाजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गरी ५ वटा मन्त्रालयहरू सामाजिक क्षेत्रमा समावेश छन् ।
महालेखा नियन्त्रक कार्यालयबाट प्रकाशित विवरण अनुसार २०८१ पुस महिनासम्म नेपाल सरकारको कुल पुँजीगत खर्चको प्रगति १६.१६ रहेकोमा उक्त राष्ट्रिय औसत भन्दा बढी पुँजीगत खर्च गर्नेमा ६ वटा मन्त्रालय सहित सबै भन्दा धेरै २४.४ प्रतिशत गृह रहेको छ भने शिक्षा मन्त्रालयको पुँजीगत खर्च १०.९ प्रतिशत रहेको छ । जुन पुँजीगत खर्च राष्ट्रिय औसत भन्दा कम हो ।
त्यसैगरी सामाजिक क्षेत्रका क्रियाकलाप प्रगति स्थितिमा क्रियाकलापको सम्पादनको तुलनात्मक स्थिति हेर्दा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कुल ५८ वटामा मध्ये सबै कार्य सुरु भएपनि पुस महिनासम्म २१ वटा सम्पन्न हुनुपर्नेमा एउटा मात्रै सम्पन्न भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुस महिनाभित्र सम्पन्न हुनुपर्ने ३ वर्षको (२०७९ देखि २०८१ पुससम्म) माइलस्टोनको प्रगति स्थितिमा १ सय २४ माइलस्टोन सङ्ख्या रहेकोमा ७० वटा पुस महिनासम्म सम्पन्न हुनुपर्नेमा ३१ वटा मात्रै सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । जुन ४४. ३ प्रतिशत हो । त्यसैगरी ३९ चालु अवस्थामा रहेको छ, जुन ५५.७ प्रतिशत हो ।
त्यसैगरी सुरु भई निश्चित लक्ष्य हासिल हुनुपर्ने माइलस्टोनको प्रगति स्थितिमा १ सय २४ माइलस्टोनमा १७ वटा पुस महिनासम्म सम्पन्न हुनुपर्नेमा लक्ष्य प्राप्त भएका ७ वटा रहेका छन्, जुन ४१.२ प्रतिशत हो । लक्ष्य प्राप्त नभएका १० वटा रहेका छन्, जुन ५८.८ प्रतिशत हो । साथै २०८१ पुस महिनाभित्र सुरु हुनुपर्ने मध्ये सुरु नभएका माइलस्टोनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रालयले माइलस्टोनले लक्ष्य हासिल गर्न नसक्नुका कारण र समस्यामा लक्ष्य उन्मुख रहेका २४, कार्यक्रम कार्यान्वयनका लागि पूर्व तयारी नभएको १३, अन्तर तह/मन्त्रालय/निकाय समन्वय र स्वीकृतका कारणले १, जनशक्ति अभाव तथा नेतृत्व परिवर्तनका कारणले ८, विपतका कारणले १ र कानुन तर्जुमा/संशोधन हुन नसकेको २ गरी कुल ४९ माइलस्टोनको निर्धारित लक्ष्य प्राप्त गर्न नसकिएको देखिएको छ ।



