काठमाडौँ /१६ माघ – पाठ्यक्रम विकास केन्द्रले प्रारम्भिक बालविकास कक्षा देखि १२ कक्षासम्म नेपाल सरकारले तोकेको मूल्य मापदण्डमा एकरूपता कायम भई स्वीकृति प्राप्त गरेका पाठ्यसामग्रीहरू मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
केन्द्रबाट शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइ र थप पाठ्यसामग्री प्रयोगका निम्ति अनुमति/स्वीकृति सम्बन्धी कार्य भइरहेको सन्दर्भमा कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी मूल्य मापदण्डमा एकरूपता नभएका पाठ्यसामग्रीहरू प्रयोग नगर्नका लागि सरोकारवालाहरूबाट सुझाब आएकोले सो आग्रह गरेको हो ।
शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा ८ तथा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम ६ मा विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक /थप पाठ्य सामग्री (डिजिटल सिकाइ सामग्री समेत) लागु गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
‘सबै प्रकारका विद्यालयहरूका प्रारम्भिक बालविकास शिक्षादेखि १२ कक्षासम्म नेपाल सरकारले तोकेको मूल्य मापदण्डमा एकरूपता कायम भई यस केन्द्र र स्थानीय तहबाट (स्थानीय पाठ्यक्रम अनुसार तयार भई विकसित ) स्वीकृति प्राप्त गरेका पाठ्यसामग्रीहरू मात्र प्रयोग गर्न सम्बन्धित सबै सरोकारवालाहरूमा अनुरोध छ’ केन्द्रले भनेको छ ।
साथै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरू यस विषयमा समयमै सजग भई कानुनी व्यवस्थाको कार्यान्वयन गर्न र आवश्यक सहयोग तथा समन्वयका लागि अनुरोध छ । आगामी शैक्षिक सत्र २०८२ मा अनुगमनका क्रममा कानुनी व्यवस्थाको बर्खिलाप हुने गरी पाठ्यपुस्तक पाठ्यसामग्री (डिजिटल सिकाइ सामग्री समेत) को मूल्य मापदण्डमा एकरूपता नभएको पाइएमा सम्बन्धित निकायबाट कारबाही हुने केन्द्रले जनाएको छ ।



