काठमाडौं/१५ माघ – जनप्रतिनिधि र सरकारी स्कुलकै शिक्षक आफ्नो स्कुलको शिक्षामा विश्वस्त नहुनु ठूलो समस्या रहेको प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले बताएकी छन् । वीरगन्जदेखि काठमाडौँको यात्रामा रहेकी श्रेष्ठले यात्राको चौथो दिन नारायणगढदेखि कुरिनटार पुग्दा स्रोतसँगै सार्वजनिक शिक्षामा विश्वासको सङ्कट रहेको बताएकी हुन् ।
‘बच्चाहरूलाई खुवाउने पानीको समेत समस्या छ । विद्यालयमा सरले सुनाउनुभयो । विद्यालयहरूमा स्रोत व्यवस्थापनको समस्याबारे धेरै गुनासो सुनियो । २ घण्टा हिँडेर आउने विपन्न वर्गका विद्यार्थी पढ्ने स्कुल अझै पनि छन् । स्रोतसँगै सार्वजनिक शिक्षामा विश्वासको पनि सङ्कट रहेछ । जनप्रतिनिधि र सरकारी स्कुलकै शिक्षक आफ्नो स्कुलको शिक्षामा विश्वस्त नहुनु ठूलो समस्या रहेछ । त्यसको कारण धेरैले दलीय राजनीति नै देखाउँछन् । ‘वन समितिमा, विद्यालय व्यवस्थापनमा दलको भाग । चुनाव गरौँ भन्दा कत्ति लड्नुप¥यो । त्यही पार्टीकै भएपनि १२ पासलाई बनाउँ भन्दा ७ पासलाई खोजेर बनाउँछन्’ जुगेडीमा एक जना युवाले भन्नुभयो’ उनले बताइन ।
यसैगरी सार्वजनिक शिक्षाको दुर्दशाबारे एक जना जनप्रतिनिधिकै परिवारले समेत गुनासो गरेको र सरकारी तलब खाएर शिक्षकहरूले प्राइभेट स्कुलमा छोराछोरी पढाउँछन् भने शिक्षामा सुधार नआउने उनिहरुले गुनासो गरेको उनको भनाई छ । जनप्रतिनिधिकै परिवारले आफ्नो बच्चालाई सार्वजनिक स्कुलमा हाले पनि त्यहाँकै शिक्षकहरूले आफ्ना छोराछोरी भने प्राइभेटमा पढाउने गरेको, शिक्षक नै राजनीतिक दलको कार्यकर्ता भएर हिँड्ने र कक्षामा उपस्थित नहुने समस्या रहेको आफूलाई सर्वसाधारणले सुनाएको बताइन ।
मुग्लिङमा एक जना दिदीले भन्नुभयो, ‘मेरो नानी पनि अहिले स्कुलमा छ । राजनीति गर्ने शिक्षकले पढाउँदैनन् ।’ एक जना प्रधानाध्यापकको समेत यस्तै स्वीकारोक्ति छ, ‘शिक्षकहरूले प्रयास त गरिरहेका छन् तर विद्यार्थीहरूलाई उत्साहजनक सिकाइका लागि प्रोत्साहन गर्न सकिएको छैन ।’
श्रेष्ठले एकल अभिभावकले सन्तानलाई शिक्षादीक्षा दिन भोगेका आर्थिक कठिनाइ सुन्दा विक्षिप्त भएको बताउँदै विद्यार्थीहरूमा मानसिक स्वास्थ्यबारे सचेतना अभाव धेरैतिर अनुभव भएको उनको भनाई छ । ‘हाम्रोमा ३ वर्षमा ५ जना विद्यार्थीले आत्महत्या गरेका छन्’ एक जना शिक्षकले सुनाउनुभयो । “सरकारले पहल लिने हो र सबैको साथ हुने हो भने विद्यार्थीहरूमा मानसिक स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कम स्रोतमै समाधान पहिल्याउन सकिन्थ्यो । यसमा हामी सबै सचेत हुनुपर्ने देखेँ” उनले भनिन् ।



