प्रिमियर इन्टरनेशनल लिटरेचर फेस्टिभल : आवाज, कथा र दृष्टिकोणको उत्सव

ललितपुर/१४ माघ – प्रिमियर इन्टरनेशनल स्कुलले जनवरी २२ देखि २४ मा इन्टरनेसनल लिटरेचर फेस्टिभल सम्पन्न गरेको छ । विद्यार्थी नेतृत्वमा आधारित कार्यक्रम साहित्यको परिवर्तनकारी शक्तिको उत्सव मनाउँदै नेतृत्व, सृजनशीलता, र समालोचनात्मक सोचलाई प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो ।


फेस्टिभलले विद्यार्थीहरूलाई नेतृत्वदायी भूमिका ग्रहण गर्न, विविध दृष्टिकोणहरूसँग अन्तक्र्रिया गर्न, र विश्वव्यापी सोच भएका व्यक्तित्व बन्ने अवसर प्रदान गर्ने प्रतिबद्धताका साथ कार्यक्रम आयोजना गरिएको स्कुलले जनाएको छ । तीन दिनसम्म सञ्चालन गरिएको कार्यक्रमले विभिन्न कक्षाका विद्यार्थीहरूका लागि उपयुक्त गतिविधिहरू समेटेको थियो ।


बौद्धिक पक्षलाई थप बलियो बनाउन “बीट्विन द लाइन्स : बायस इन लिटरेचर एन्ड द राइटर’ द रिस्पोन्सिबिलिटी“ शीर्षकको प्यानल छलफल आयोजना गरिएको थियो । यसैगरी प्रसिद्ध बाल साहित्यकार अनन्त वाग्लेलाई नेपाली साहित्यमा लामो समयसम्म गरेको अतुलनीय योगदानका स्वरूप फेस्टिभलमा सम्मान गरिएको थियो । उनको कथावाचक शैली र प्रभावकारी कथानक रचनाले बाल पाठक र युवा लेखकहरूलाई प्रेरित गर्दै आलोचनात्मक सोच र कल्पनाशीलतालाई प्रोत्साहित गरेका कारणले सम्मान गरिएको स्कुलले जनाएको छ ।


विद्यालयकी निर्देशक पवित्रा लिम्बुले शिक्षिका र प्रशिक्षकहरूका लागि “द पावर अफ लिटरेचर” शीर्षकको कार्यशाला आयोजना गरेकी थिइन । यो सत्र उपत्यकाका विभिन्न विद्यालयका शिक्षकहरूले सहभागिता जनाउँदै साहित्यले कसरी जिज्ञासा जगाउन, मन खोल्न र परम्परागत पाठ्यपुस्तकभन्दा बाहिरको समालोचनात्मक सोचलाई प्रोत्साहित गर्न सक्छ भन्नेबारे छलफल गरिएको थियो ।


प्रत्येक कक्षाका विद्यार्थीहरूका लागि उपयुक्त गतिविधिहरू सुनिश्चित गरिएको थियो । पूर्व–प्राथमिक तहका विद्यार्थीहरूले फ्रेन्च, स्पेनिस, अङ्ग्रेजी, र नेपाली भाषामा बहुभाषिक कथावाचनको आनन्द लिए भने, कक्षा १ का विद्यार्थीहरूले “फेन्सी न्यान्सी“ कथाबाट असामान्य शब्दहरूको अन्वेषण गर्दै रचनात्मकता र जिज्ञासा जागृत गरे । कक्षा २ ले शब्द रहित कथाहरूको चित्रण कार्यशाला, कक्षा ३ ले परीकथाहरूको कालक्रम लिने, र कक्षा ४ ले टिकु गौचनको नेतृत्वमा पत्र लेखनको कलामा ध्यान केन्द्रित गरे ।


कक्षा ५ का विद्यार्थीहरूले छन्द कविताको लयात्मक सौन्दर्य पत्ता लगाए । ठूला कक्षाका विद्यार्थीहरूले गहिरो र समालोचनात्मक गतिविधिहरूमा सहभागी भए । कक्षा ६ ले काल्पनिक पात्रहरूका दृष्टिकोणमा प्यानल छलफलमा भाग लिए भने कक्षा ७ ले पाठकको रूपमा आफ्नो विकासलाई प्रतिविम्बित गर्ने “माई रिडिङ टाइमलाइन“ सिर्जना गरे । कक्षा ८ ले पुस्तकालय भ्रमणमा साहित्यमा पूर्वाग्रहहरू खोजी गरे । कक्षा ९ ले “साहित्यमा व्यङ्ग्य“ विषयक सत्रमा विश्लेषणात्मक सोच र आलोचनात्मक दृष्टिकोणहरूलाई प्रोत्साहित गर्ने गरी चर्चित लेखकहरू पुरु लम्साल र अनन्त वाग्लेसँग अन्तरक्रिया गरे ।


सिनियर हाई स्कुलका विद्यार्थीहरूले साहित्यिक सृजनशीलताको लागि ब्ल्याकआउट कविताहरू बनाए । आईबीडीपी वर्ष १ की आरशीया गोर्खालीले सहपाठीहरूलाई साहित्यसँग सृजनात्मक रूपमा अन्तक्र्रिया गरेको देख्दा खुसी लागेको बताइन् ।एमवाईपी ४ की साची केडियाले यस कार्यक्रमले दृष्टिकोण विस्तार गर्न र व्यक्तिगत परावर्तनलाई प्रोत्साहित गर्न भूमिका खेलेको बताइन् । कक्षा ९ की जयनि पण्डितले यस फेस्टिभलले विद्यार्थीहरूलाई आफूलाई अन्वेषण गर्न र फरक दृष्टिकोणलाई बुझ्न अवसर दिएको बताइन् । आईबीडीपी वर्ष १ का शाश्वत प्रताप श्रेष्ठले यो फेस्टिभललाई साहित्यको विविध दुनियाँमा प्रेरणादायी यात्रा भएको बताए ।