अब लर्निङको आधार परिवर्तन गर्नुपर्छ

काठमाडौँ /१० माघ – विद्यार्थी सिकाइको आधार परिवर्तन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आयोजना गरेको विद्यालय शिक्षाको पाठ्यक्रममा परिमार्जन र गुणस्तरमा प्रभाव विषयक अन्तरकृया कार्यक्रममा सहभागी सरोकारवालाहरूले शिक्षण सिकाईको आधार परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।


पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठले सन् २००० भन्दा अघि र पछि विश्वव्यापी रूपमा पाठ्यक्रम विकासको ट्रेण्ड परिवर्तन भएको बताए । सन् २००० भन्दा अघिसम्म विश्वव्यापी रूपमा के जानेको छ भन्ने तथा शिक्षक केन्द्रीत आधारमा शिक्षण सिकाई हुने गरेको बताए । सन् २००० पछि भने के जानेको छ भन्नेतर्फ तथा विद्यार्थी केन्द्रीत केन्द्रीत भइरहेको उनको भनाइ छ । सोही आधारमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिवर्तन गर्ने काम गरिरहेको बताए ।


पहिला नलेज फोकस पढाई हुने गरेकोमा अहिले क्रिटिकल थिङकिङको आधारमा हुने गरेको बताए । जसले गर्दाले जे जानेको छ त्यही आधारमा पठनपाठन गरिनुपर्नेमा जोड दिए । विद्यालय तहको पाठ्यक्रमले ४४ वटा गुण, विशेषता, क्षमता भएको हुनुपर्ने जनाएको छ । जसमा चिन्तन, राष्ट्रिय भावमा ओतप्रोत अन्तरवैयक्तिक सीप जस्ता विषय रहेको उनको भनाइ छ ।


दैनिक जीवनमा आइपर्ने समस्याको समाधान गर्ने कला समेत शिक्षण सिकाई अन्तर्गत भएको बताए । त्यही आधारमा केन्द्रले घरायसी कार्यलाई समेत मूल्याङ्कनको आधार बनाइएको उनको भनाइ छ । घरायसी कामको मूल्याङ्कन समयका आधारमा गरिने र घरमा गरेको कामलाई ६० घण्टा मानिने बताए । त्यसमा विषयगत सम्भावित घरायसी कामको सूची तयार पारिएको र सोही आधारमा हुने बताए । त्यसरी घरायसी काम लगाउँदा विद्यार्थीको शारीरिक क्षमताभन्दा बढी काममा लगाउन भने नपाइने उनको भनाइ छ ।


यसका साथ साथै पाठ्यक्रम विकास केन्द्र विभिन्न नयाँ नयाँ कामहरू गर्न लागिरहेको समेत बताए । कक्षा ९ र १० मा विज्ञान र गणित विषयमा खुला प्रश्न राख्न खोजिरहेको बताए । त्यसमा विद्यार्थीले लजिकको आधारमा उत्तर दिन मिल्नेगरी गर्न लागिएको बताए । कक्षा ११ र १२ मा २ विषय अतिरिक्त विषय लिन सक्ने व्यवस्था समेत गर्न लागिएको बताए । हाल एक विषयमा मात्रै अतिरिक्त विषय लिन पाउने व्यवस्था रहेकोमा अब विद्यार्थीको रुची अनुसार दुई विषय समेत लिन पाउने व्यवस्था गर्न लागिएको बताए ।


प्रारम्भिक बालविकास विज्ञ डा. मीनाक्षी दाहालले ईसीडीको पाठ्यक्रम परिमार्जनको क्रममा रहेको बताइन । २०७७ सालमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम बनाएको र त्यसअघि दिग्दर्शन मार्फत हुने गरेको बताइन ।


ईसीडीको पाठ्यक्रम शिक्षकहरूले बुझ्न खालको नभएको बताउँदै यसलाई सिकाउने भन्दा पनि सिक्नको लागि आधार मान्नुपर्नेमा जोड दिइन ।


४० देखि ६० महिनाको बालबालिकाले ईसीडीको पढाई सकेपछि कक्षा १ मा भर्ना ह गरेको बताउँदै उनले त्यो अवधिमा सिकेको कुराले कक्षा १ मा भर्ना हुन योग्य भयो वा भएन प्रमुख विषय रहेको बताइन । ईसीडी पढ्ने बालबालिकाको हकमा सूक्ष्म विकास हुनुपर्ने कुरामा जोड दिइने बताइन । लेख्न पढ्न अगाडि जान जस्ता विषयमा बालबालिकाले जाने वा नजानेको विषय नै ईसीडीको सिकाइ हुने बताइन ।


यो पाठ्यक्रमको विकल्प भन्दा पनि सहयोगी हुनसक्छ भनेर तयार पारिएको बताइन । अहिले तयार पारिएको नयाँ पाठ्यक्रम स्वीकृतिको चरणमा रहेको उनको भनाइ छ ।


शिक्षाविद् तथा एनसीई नेपालका पूर्व अध्यक्ष विमल फुयाँलले घरायसी कामलाई समेत मूल्याङ्कनको आधार बनाउन निकै राम्रो विषय भएको बताए । पाठ्यक्रम निर्माण भनेको शिक्षाको सुधार नभएको बताए । आज सिक्ने कुराले १० वर्षपछि प्रभाव पर्ने भएकाले त्यही अनुसारको पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिए ।


पाठ्यक्रम निर्माणमा विद्यार्थीहरूको सिकाई, भोगाईलाई समेत समेट्नुपर्ने बताए । अभिभावकहरूलाई समेत यसमा जोड्नुपर्ने बताए । काठमाडौँ विश्वविद्यालयमा पीएचडी अध्ययनरत रमिला सुवेदीले घरको कामलाई समेत मूल्याङ्कन गर्न खोज्दा त्यसबाट पर्न सक्ने चुनौतीका विषयमा सचेत हुनुपर्ने बताइन ।


चितवनका विश्वास चेपाङले अहिलेको शिक्षाले विदेश जानको लागि तयारीको रूपमा भरहेको बताए । आदीवासी जनजातीहरूले सिकेको सीप, ज्ञानलाई समेत समेट्दै पाठ्यक्रम निर्माण गर्न सुझाव दिए ।


नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णु भण्डारीले १० वर्षमा हुने गरेको पाठ्यक्रम परिवर्तन ५ वर्षमा गर्न सुझाव दिए । उनले कक्षा ९१२ मा पढ्ने विद्यार्थीलाई अप्ठ्यारो परेको भनिरहेको तर, विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरू समेत त्यहीबाट जाने भएकोले त्यसतर्फ समेत सोच्नपर्नेमा जोड दिए ।


डा.लक्ष्मी पौडेलले पाठ्यक्रम विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने बताइन । पाठ्यक्रमलाई जीवन, रोजगारी सीपसित जोड्ने खालको हुनुपर्ने उनको भनाई थियो ।


बाबुकाजी श्रेष्ठले नयाँ कुरा ल्याउन खोज्दा आफ्नो धरातल बिर्सिन नहुँने बताए । शिक्षकहरूलाई त्यही अनुसार तयार नै नगरी लागु गर्दा प्रभावकारी हुन नसक्ने बताउँदै त्यसका लागि सबैभन्दा पहिला शिक्षकहरूलाई तालिम दिनुपर्ने बताए ।


गणित शिक्षक सागर दाहालले गणित विषयमा आगामी दिनमा काम नलाग्ने खालका विषयहरू समावेश गरिएको उल्लेख गर्दै त्यसता विषयहरू हटाउन सुझाब दिए । गणित विषयलाई समेत जीवनसँग जोडेर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

शिक्षाविद् विद्यानाथ कोइरालाले सिक्ने र सिकाउने काम अब शिक्षक विद्यार्थी दुवैको भएको बताउँदै विगतमा शिक्षकले सिकाउने विद्यार्थी सिक्ने भन्ने दिन गएको बताए । अहिले विद्यार्थी चलाख भइरहेको अवस्थामा शिक्षकहरू भने लन्ठु भएको बताए । ३६० डिग्री तथा २४ घण्टा नै सिक्ने अवस्थामा अहिले पनि क्लासमै सिकाउनुपर्ने भनिरहेको बताए ।


आज प्रविधिले केटाकेटी उमेर धेरै अगाडि पुगिसकेको बताउँदै विद्यार्थीको सिकाईसँगै शिक्षकले पनि सिक्नुपर्ने बताए १ शिक्षकलाईसँगै अभिभावकहरूलाई समेत अभिमुखीकरण तालिम दिनुपर्ने अवस्था आएको बताए ।


विद्यार्थीलाई खुला प्रश्नपत्र नभई खुला जाँच पनि लिनुपर्नेमा जोड दिए । अहिले धेरै विद्यार्थी विदेश गएकोमा चिन्ता व्यक्त भइरहेको बताउँदै त्यो चिन्ताको विषय नभएको बताए ।


१ लाख विद्यार्थी विदेश गइरहेका छन् । ७७ लाख विद्यार्थी त नेपालमै पढिरहेका छन् । हामीलाई अझै विदेश जाने एक लाखको छ । ७७ लाखको केही छलफल नै हुदैन । यसमा गम्भीर हुनुपर्छ,’ कोइरालाले भने ।


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आन्दोलनको तयारीमा रहेका शिक्षकहरूलाई त्यो रोकेर कक्षाकोठामा विद्यार्थी पढाउनमा ध्यान दिन आग्रह गरेकी छन् । शिक्षकहरूले नयाँ शिक्षा ऐन जारी गर्नका लागि दबाब दिने भन्दै काठमाडौँ केन्द्रित आन्दोलनको तयारी गरेका छन् । उक्त विषयमा जवाफ दिदै मन्त्री भण्डारीले आन्दोलन व्यवस्था परिवर्तनका लागि हुने गरेको बताउँदै शिक्षकहरूले गर्न खोजेको आन्दोलन जायज नभएको बताइन ।


शिक्षकहरू आन्दोलन गर्ने भनिरहेको तर प्रधानमन्त्री यो वर्ष एसईईको नतिजा ७० प्रतिशत पु¥याउनुपर्छ भनिरहेको बेला आफू समस्यामा परिरहेको बताइन । उनले शिक्षकहरूलाई आन्दोलन नभई कक्षा कोठामा गएर पढाईमा फोकस हुन आग्रह गरिन् ।
अहिले विद्यालय शिक्षा ऐन समितिमा छलफलको क्रममा रहेको बताउँदै यस्तो अवस्थामा आन्दोलन गर्छु भन्नुको अर्थ नहुने बताइन । पाठ्यक्रममा समयसापेक्ष परिवर्तन गर्न खोजिएको बताउँदै यसले विद्यार्थीलाई सीप र श्रमसग जोड्न मदत पुग्ने बताइ ।


कार्यक्रममा पाठ्यक्रम परिमार्जन र गुणस्तरका विषयमा विभिन्न सरोकारवाला निकायबाट जिज्ञासा तथा सुझाव व्यक्त भएका थिए । ति सुझावहरूलाई अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै केन्द्रका महानिर्देशक श्रेष्ठले पाठ्यक्रम परिमार्जनका क्रममा ति विषय समावेश गरिने प्रतिबद्धता व्यक्त गरे ।