काठमाडौं/१० माघ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरुलाई आन्दोलनमा भन्दा काक्षाकोठामा जान आग्रह गरेकी छन् । शिक्षकहरूले पेसागत मागका लागि आन्दोलनमा जान्छौँ भनेर आफूलाई भनिरहेको सन्दर्भलाई उल्लेख गर्दै अहिले नै आन्दोलन गर्नुपर्ने अवस्था नरहेकोले शिक्षक आन्दोलनमा नभई कक्षाकोठामा जान भनेकी हुन् ।
बुधवार एनसिई नेपालले आयोजना गरेको विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन र गुणस्तरमा प्रभाव बारे छलफल कार्यक्रममा बोल्दै आन्दोलन शब्दबाट विद्यार्थीहरू पनि त्रसित हुन थालेको उनको भनाई थियो । उनले मन्त्री फेर्ने कै लागि भए मात्र आन्दोलन गर्दा हुने त्यसका लागि आफूले आभार व्यक्त गर्ने समेत बताइन ।
“आन्दोलन राज्य व्यवस्था परिवर्तन गर्नका लागि गरियो । मन्त्री फेर्ने हो भने आन्दोलन गर्नुहोस म एकदमै आभार व्यक्त गर्छु । यो विद्या भट्टराई मन्त्री भइन फेरौँ भन्नु हुन्छ भने हुन्छ मैले छोडी नै हाल्छु समस्या छैन । तर हामी साँच्चिकै समाज बनाउनका लागि हो भने अगाडी बढेको मिलेन” उनले भनिन्।
उनले हिजोका दिनहरूमा सार्वजनिक छलफल कार्यक्रमहरूमा समेत शिक्षकहरू आउन नसकेको र आफ्ना कुरा राख्नै नपाएकोले आन्दोलन गर्नपरेको बताउँदै शिक्षकहरूका भाषा, विचार र सुझाबहरूलाई ग्रहण गरेर अगाडी बढ्न मन्त्री, प्रधानमन्त्री लगायत सबै शिक्षकहरूकै साथमा भएको संकेत गरिन ।
एसईईको परीक्षा नजिकिदै गरेको र सरकारको लक्ष्य ७० प्रतिशत विद्यार्थी पास गराउनुपर्छ भन्ने रहेको उल्लेख गर्दै संघ–संगठनले आन्दोलन गर्छु भनिरहँदा शिक्षा कता जान्छ भन्ने उनको शिक्षकहरूलाई प्रश्न थियो । उनले भनिन् “हामी एसईईको नजिक छौँ । प्रधानमन्त्री बारम्बार भन्नु हुन्छ ७० प्रतिशत पास गराउनु पर्छ त्यो सरकारको लक्ष्य हो । अनि संघ–संगठन आन्दोलन गर्छौ भनेपछि शिक्षामन्त्री कता पट्टि जाने ? संघ–संगठनसँगै आन्दोलनमा जाने की प्रधानमन्त्रीले भन्नु भएकोतिर लक्ष्य प्राप्तिका लागि काम गर्ने ? त्यसैले मैले के अनुरोध गर्न चाहन्छु भने नेतृत्व त्यो हो जसले जोखिमलाई पनि सहज ढंगले अगाडी बढ्नका लागि आफूलाई तयार गर्छ ।”
यदी शिक्षक संघ–संगठनले आफूहरूलाई शिक्षकहरूको नेता ठान्ने हो भने चाहे सिकाउने कुरामा भएका चुनौती हुन वा काम गर्ने सन्दर्भका चुनौती हुन लगायतका आजका चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रीत हुनुपर्ने बताइन ।
मन्त्री भट्टराईले नीति, नियम धेरै बनाइसकिएको तर कार्यान्वयन मुख्य कुरा रहेको जोड् दिँदै मन्त्री एक्लैले कार्यान्वयन गरेर मात्रै नहुने बताइन । आजको मूल प्रश्न कार्यान्वयन रहेको बताउँदै कार्यान्वयन गर्नका लागि मन्त्रीसँगै शिक्षक भए मात्र कार्यान्वयन हुने तर एक्लै मन्त्रीले मात्रै गर भनियो भने नहुने उनको भनाई थियो । अवस्था बदल्नका लागि सबैसँगै हुनुपर्ने, सँगै भए महसुस गर्न सकिने भएकोले शिक्षा मन्त्रीलाई साथ दिन आग्रह गरिन ।
अर्को सन्दर्भमा बोल्दै शिक्षकहरूलाई दलका कार्यकर्ता भए भन्ने आरोप रहेको र राजनीतिक चेतना सबै नागरिकसँग हुनुपर्ने बताउँदै त्यसले शिक्षकहरूलाई अपमानित हुने अवस्था सिर्जना गरेको बताइन ।
उनले भनिन् “आजपनि शिक्षकहरूलाई लाग्ने लाञ्छना छ । शिक्षक दलका कार्यकर्ता हुन । त्यो आरोप छ । सबै शिक्षकलाई । किनभने अगुवा जति धेरै जो चिनिनु भएको छ, संघ–संगठनमा रहनु भएकाहरू निश्चित विचारबाट प्रभावित हुनुहुन्छ । स्वभाविक रूपमा हामी के कुरालाई स्विकार्छौ भन्दा राजनीतिक चेत हरेक नागरिकसँग हुन्छ । लोकतन्त्रमा राजनीतिक चेतना बिनाको नागरिक हुँदैनन् । सबैसँग हुन्छ तरपनि आज जुन आरोप शिक्षकहरूले भोगिरहनु भएको छ, जसले उहाँहरूलाई एकखालको अपमानित गरिरहनु भएको छ ।”



