काठमाडौं/४ पुस – नेपाल राष्ट्रिय शिक्षक संगठनले योगदानमा आधारित निवृत्तभरणकोषमा शिक्षकलाई पनि समावेश गर्ने कुरा नयाँ शिक्षा ऐन जारी भए पश्चात् मात्र लागु हुने व्यवस्था गर्न माग गरेको छ । अध्यादेश निष्क्रिय गराएर शिक्षकका पेसागत माग र मुद्दालाई तत्काल सम्बोधन गर्न भन्दै सो माग गरेको हो ।
संगठनले प्रेस विज्ञप्ति जारी गर्दै समयमै सङ्गठनले उठाएका जायज मागहरू पुरा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरकारले लिनुपर्ने समेत चेतावनी दिएको छ ।
“भूतप्रभावी अध्यादेशको व्यवस्था स्वीकार गर्न सकिन्न । यसकारण योगदानमा आधारित निवृत्तभरणकोषमा शिक्षकलाई पनि समावेश गर्ने भन्ने कुरा नयाँ शिक्षा ऐन जारी भए पश्चात् मात्र लागु हुने व्यवस्था गर्नको लागि ने रा शि सङ्गठन जोडदार माग गर्दछ । यो अध्यादेश निष्क्रिय गराएर शिक्षकका पेसागत माग र मुद्दालाई तत्काल सम्बोधन गरियोस् । समयमै सङ्गठनले उठाएका जायज मागहरू पुरा नगरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् सरकारले लिनुपर्नेछ” विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी नेपाल सरकारद्वारा हाल जारी गरिएको अध्यादेशबाट शिक्षकलाई योगदानमा आधारित नवृत्त कोषमा सहभागी गराउने सम्बन्धमा अध्यादेशबाट भएको व्यवस्था प्रति नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्यालय शिक्षा विधेयक २०८० संसदीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा परामर्श चरणमा छलफल भईरहेको अवस्थामा सम्बन्धित सरोकारवालाहरूसँग विना छलफल सरकारद्वारा अध्यादेश जारी गरिएकोछ । विगतमा शिक्षक महासङ्घसङ्ग भएका ३० बुँदे, ५१ बुँदे, २०८० असोज ५ गते र १२ गतेको ६ बुँदे र ५ बुँदे सम्झौताहरूको सम्बोधन हुनु पर्दछ । चालु शिक्षा ऐन अनुसार नियुक्त शिक्षकहरूको निवृत्तिभरण सोही ऐन तथा नियमावली बमोजिम नै हुनुपर्ने माग गरेको छ ।



