काठमाडौं/३ माग – प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ । काँग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महर नेतृत्वमा विधेयक निर्माणका लागि छलफल भइरहेको हो ।
पहिलो चरणमा पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारीसँग छलफल गरेको विभागले दोस्रो चरणमा सरोकारवालासँग बुधवार पार्टी मुख्यालय सानेपामा छलफल गरेको थियो । शैक्षिक नीति बहस सृंखला–३ अन्तर्गत “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रममा विभिन्न शिक्षक संघ संगठन लगायत ६० दर्जन बढी शिक्षासँग सरोकार राख्ने संस्थाहरूका तिन सय जनाले संसदमा रहेको विधेयकमा सुधारबारे काँग्रेसका उपसभापति एवं पूर्व प्रधानमन्त्री पूर्ण बहादुर खडका ,कोषाध्यक्ष एवं शिक्षाविद् उमेश श्रेष्ठ , काँग्रेस शिक्षा विभागका पूर्व प्रमुख डा. चन्द्र भण्डारी सहितले आफ्ना भातृ र शुभेच्छुक संस्थाहरूको उपस्थितमा विमर्ष गरेको थियो ।
कार्यक्रममा उपसभापति खड्काले आवश्यक परिमार्जन सहित संसदको यही हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित हुने बताए । शिक्षा विभाग प्रमुख नैनसिंह महरले निःशुल्क शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न, शिक्षक संगठन लगायतका सरोकारवाला सँग सरकार र काँग्रेसले विगतमा गरेका सम्झौताको कार्यान्वयन, निजी क्षेत्रको लगानीको सुरक्षा र शिक्षामा गुणस्तरीययता कायम गरेर शिक्षालाई विश्व स्तरमा प्रतिस्पर्धा गर्ने बनाउन काँग्रेस प्रतिबद्ध रहेको बताए ।
शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला हाम्रा नीति र प्राथमिकतामा पनि रूपान्तरण महसुस गरिएकाले वृहत्त छलफल जारी राखिएको शिक्षा विभाग प्रमुख महरको भनाई थियो । उनले सबैबाट सङ्कलित सुझाव सरकारलाई बुझाएर विधेयकमा समावेश गर्न दवाव दिइने बताए ।
’राष्ट्रिय आवश्यकतामुखी एवं अन्तर्राष्ट्रिय परिवेश सुहाउने शिक्षाका लागि नीतिमा सामयिक सुधार जरुरी रहेको छ । २०२८ सालदेखि नयाँ शिक्षा ऐन आएको छैन । शिक्षा क्षेत्रले नयाँ प्रगतिका आयाम खोजेको छ । ती आयाम छुन नेपालमा कानुन नै नबन्नु दुखद विषय हो । आगामी हिउँदे अधिवेशनबाट यसको हल खोजीनुपर्छ,’ उनले भने ।
’शिक्षालाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालको कसरी बनाउने ?, अध्यापन गराउने शिक्षकका सेवा सुविधाका बारेमा के गर्ने ? व्यवस्थापन समित र अभिभावकको जिम्मेवारी के हुने ?, राज्यले कति लगानी गर्ने ? शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मनिटरिङ कसरी गर्ने भन्नेमा सरकार प्रस्ट हुनुपर्छ । शिक्षालाई कसरी जीवनोपयोगी कसरी बनाउने भन्नेमा सरकार गम्भीर देखिनुपर्छ,’ मरले भने ।
नेपालको शिक्षा सञ्चालनका लागि जस्तो किसिमको प्रावधान अवलम्बन गर्नुपर्ने हो त्यो कानुन अनुसार हुनुपर्ने उनले बताए । शिक्षा ऐन आउँछ भनेको दुई वर्ष भए पनि सदनमा अड्किएर बसेकाले त्यसलाई पास गराउनका लागि काँग्रेसले पहलकदमी थालेको महरले प्रस्ट पारे ।
’काँग्रेस शिक्षा विभागको प्रस्तावमा पार्टीको केन्द्रीय कार्य समितिको यही असोज २ को बैठकले शिक्षा नीति बनाउने निर्णय गरेपछि संस्थागत रूपमै नीति निर्माण र त्यसको कार्यान्वयनले शिक्षा क्षेत्रमा नयाँ बहस र सुधारको थालनी हुने विश्वास छ । संस्थागत नीति निर्माणले पार्टीका प्राथमिकता र एजेण्डा निर्धारणको बाटो समेत तय गर्दै दलीय जवाफदेहीतामा अभिवृद्धि हुनेछ,’ महरले भने ।
शिक्षा नीति निर्माणको प्रक्रियामा शिक्षा क्षेत्रका विज्ञ, शिक्षाविद्, सरोकारवाला निकाय, राजनीतिक दल र नागरिक समाजसँग निरन्तर छलफल तथा अन्तरक्रिया आरम्भ गरिएको उनको बताए । देशभरबाट नौ लाख ७३ हजार सँग अन्तरक्रिया अभियान काँग्रेसको छ । शिक्षासँग सम्बन्धित विभिन्न विधेयक, नीति तथा कार्यक्रममा पर्याप्त विचार–विमर्श गरी तिनीहरूलाई उत्कृष्ट स्वरूप दिन र सबै पक्षले आफ्नो अपनत्व महसुस गर्ने गरी कार्यान्वयनमा ल्याउन सकिने विश्वास उनले व्यक्त गरेका छन् ।
अहिले संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र टुङ्गोमा पु¥याउन राजनीतिक सहमति निर्माण गर्न आवश्यक रहेको महरको भनाइ छ । विधेयकमा रहेका जटिलतालाई सम्बोधन गर्दै यसलाई अझ प्रभावकारी बनाउने दिशामा विज्ञ र सरोकारवालाको अमूल्य राय तथा सुझावको आवश्यकता रहेको महरले बताए ।



