काठमाडौं/२४ पुस – नेकपा एमालेको आठौँ पूर्ण बैठकले शैक्षिक संस्थाहरूलाई हडतालमुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
बैठकले १४ बुँदे प्रस्ताव पारित गर्दै शैक्षिक संस्थाहरूमा भइरहेका बन्द, हडताले गुणस्तरीय शिक्षाको राष्ट्रिय लक्ष्यमा गम्भीर नकारात्मक प्रभाव पार्नुका साथै विद्यार्थीहरूको वाह्य प्रवासनलाई बढावा दिइरहेकोले भन्दै सो निर्णय गरेको हो ।
निर्णयको १३ औं बुँदामा भनिएको छ ’’यो बैठक विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूमा भइरहेका बन्द, हडताल र अवरोधका घटनाहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दछ । यस्ता गतिविधिले गुणस्तरीय शिक्षाको राष्ट्रिय लक्ष्यमा गम्भीर नकारात्मक प्रभाव पार्नुका साथै विद्यार्थीहरूको वाह्य प्रवासनलाई बढावा दिइरहेको छ । यो बैठक त्यस्ता शैक्षिक संस्थाहरूलाई हडतालमुक्त क्षेत्र घोषणा गर्न र स्वस्थ प्राज्ञिक वातावरण निर्माणका लागि प्रभावकारी भूमिका खेल्न सरकारसँग आग्रह गर्दछ । सम्बद्ध विद्यार्थी, प्राध्यापक र कर्मचारी संघ संस्थाहरूलाई यस अभियानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछ ।’’



