काठमाडौं/२२ पुस – शैक्षिक क्षेत्र सुधारको मागसहित काठमाडौँको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईँले आन्दोलन स्थगित गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भेटेर माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि स्थगित गरेका हुन् ।
मन्त्री भट्टराईले शिक्षा क्षेत्र सुधारका लागि प्रक्रियामा प्रवेश गरिसकेकाले शंका नगर्न अनुरोध गर्दै शिक्षामा अहिले देखिएका समस्याहरूको सुधार र यसबाट परिणाम आउन दिनका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताइन । उनले आर्थिक वर्ष २०८१÷८२ बजेट तर्जुमा गर्दा अहिलेको सरकार नरहेका कारण सबै विषय सम्बोधन गर्न कठिन रहेको उल्लेख गर्दै अहिले विपद्बाट क्षति भएका विद्यालयहरूको पुनर्निर्माणका गर्न आवश्यक रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा पेस भइसकेको जानकारी दिइन ।
यसैगरी संस्थागत विद्यालयमा सरकारले तोकेबमोजिम छात्रवृत्ति दिनका लागि अनिवार्य गराइएको, स्थानीय तहहरूलाई शिक्षा कोष स्थापना गर्न उत्प्रेरित गराईने, शिक्षकको उपचारमा छुटको लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिसकिएको पनि मन्त्री भट्टराईले बताइन ।
उक्त समयमा प्रतिनिधि सभाको शिक्षा, समितिका सभापति अमरबहादुर थापाले नेपालको शिक्षाको मोडेल सुधारका लागि समितिमा छलफलमा राखेको, अबको शिक्षाको मोडेल नेपालमै बसेर केही गर्न सक्ने खालको हुनुपर्ने भएकोले सोही अनुसार शिक्षा ऐेन ल्याउन नागरिकको धारणा समेत लिन खोजेको बताए ।
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईँ सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौँ आएका थिए । काठमाडौँमा उनी उभिन थालेको सोमवार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैसाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।



