विकल्पको खोजीमा राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं/१४ पुस – कक्षा ११ को विषय दर्ता शुल्क नलिने भएपछि राष्ट्रिय परीक्षा बोर्ड विकल्पको खोजीमा रहेको छ । सरकाले उपलब्ध गराउने रकम अपुग हुने भएपछि विषय दर्ता बापत उठ्ने शुल्क बराबरको रकम जोहो गर्न विकल्पको खोजीमा रहेको हो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न शुल्क नउठाउन भनेपछि अर्को वर्षदेखि विषय दर्ताको शुल्क नलिने निर्णय बोर्डले गरेको छ । तर, विषय दर्ताबाट उठ्ने शुल्कका आधारमा यो वर्षका लागि बोर्डले कार्ययोजना बनाइसकेकोले यो अहिले नै सम्भव नभएको र अर्को वर्षदेखि विकल्प खोजेर भएपनि शुल्क नलिने निर्णय गरिएको बोर्डको तर्क छ ।


कर्मचारी, परीक्षा केन्द्रको व्यवस्थापन, परीक्षा व्यवस्थापन, उत्तरपुस्तिका परीक्षण लगायतका विषयमा बोर्ड आफैले आम्दानी गरेर खर्च गरेको अवस्थामा विषय दर्ताको शुल्क नलिदा सञ्चालनमा कठिन हुने भएकोले अर्को वर्षसम्म विकल्प खोजेर भएपनि विषय दर्ताको शुल्क नलिने तयारी गरको स्रोतको भनाई छ ।


स्रोतले भन्यो नेपाल सरकारको अब बजेट बन्दा रकम व्यवस्थापन गर्न अनुरोध गर्छौ । त्यो पनि भएन भने वैकल्पिक उपाय अन्य स्रोतबाट विषय दर्ताबाट आए बरारको रकम लिने गरी तयारी थाल्ने छौँ । त्यो भनेको सर्टिफिकेटमा पनि हुन सक्छ ।अहिले थोरै रकम लिएका छौँ त्यसलाई वृद्धि गर्न पनि सकिन्छ तर, अहिले नै यही गर्ने भन्ने निर्णय भने गरेका छैनौँ ।


राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापकीय पक्ष आर्थिक सुदृढीकरण र बोर्डको व्यवस्थापकीय कार्यदलको टिओआर समेतलाई हेरेर आवश्यक निर्णय गरिने जनाएको छ । शिक्षा ऐनमा समेत बोर्डको नाममा छुट्टै कोष रहने र विभिन्न पाँच तरिकाबाट रकम लिन सकिने व्यवस्था रहेकोले त्यसलाई समेत हेरिने जनाएको छ ।


ऐनमा नेपाल सरकारबाट प्राप्त रकम, विद्यार्थीबाट लिइने शुल्कबाट प्राप्त रकम, विदेशी व्यक्ति, सरकार, संघ वा संस्थाहरूबाट अनुदान वा ऋण स्वरूप प्राप्त रकम, स्वदेशी व्यक्ति, संघ वा निकायबाट प्राप्त रकम र अन्य स्रोतबाट प्राप्त रकम कोषमा राख्न पाईने व्यवस्था छ ।


यस सन्दर्भमा अहिलेसम्म नेपाल सरकारबाट प्राप्त रकम र विद्यार्थीबाट लिइने शुल्कबाट प्राप्त रकम बाहेक कसैसँग रकम नलिएको बोर्डको भनाई छ ।