काठमाडौं/१३ पुस – कर्णालीका प्राविधिक क्षेत्रका विद्यार्थीले शुक्रवार भक्तपुरस्थित नेपाल इको प्यानलको अध्ययन भ्रमण गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्राविधिक शिक्षालय चन्दननाथ ३ जुम्लाका विद्यार्थीले भक्तपुरको झौखेलस्थित इको प्यानलको कारखानामा पुगेर इको प्यानलको उत्पादन प्रक्रियाबारेमा अध्ययन भ्रमण गरेका हुन् ।
शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेश्रो वर्ष पहिलो खण्डमा अध्ययन गर्ने प्रशिक्षार्थीहरूले शैक्षिक अध्ययन अवलोकन गरेको कम्पनीले जनाएको छ । शिक्षालयका प्रमुख टेकेन्द्रबहादुर थापाले विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जुम्लादेखि भक्तपुरको इको प्यानलको कारखानामा लगिएको जानकारी गराए ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले आफूहरूले नाफा मात्रै केन्द्रित नभई सिक्ने सिकाउने संस्थाको रूपमा पनि कम्पनीलाई अगाडि बढाई विद्यार्थीलाई ठाउँँ दिँदै आएको जानकारी गराए । भविष्यमा निर्माण क्षेत्रमा लाग्ने विद्यार्थीलाई निर्माण सामाग्रीकोबारेमा जानकारी दिन आफूहरूले विद्यार्थीहरूलाई ठाउँँ दिँदै आएको जानकारी उनले गराए ।